काठमाडौं, २१ पुस । नेपाली सेनाले रकम हिनामिना गरेको अभियोगमा छाउनी अस्पतालमा कार्यरत रथि (जर्नेल) डा. रमेश विष्टमाथि छानबिन थालेको छ । कृषि विकास बैंक न्युरोड शाखा कार्यालयको ४ करोड ९१ लाख रुपैयाँ हिनामिनामा गरेको अभियोगमा उनीमाथि छानबिन सुरु भएको हो ।

kkसैनिक जनसम्पर्क निर्देशनलयका प्रमुख एवं प्रवक्ता सहायक रथि गोकुल भण्डारीका अनुसार बंैक घोटलामा मुछिएपछि प्रारम्भिक छानबिन सुरु भएको हो ।

कृषि विकास बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सीआईबीले केही साताअघि नै पक्राउ गरेपछि यसको थप रहस्य बाहिर आएको हो । बैंककी सहायक टेलर दीपिका रेग्मीको योजनामा घोटाला भएको अनुसन्धानमा देखिएको छ ।

रेग्मीसहित प्रहरीले बैंकका पियन रमेश थापा र सुन पसले प्रकाश घतानीलाई पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाइसके पनि अन्य व्यक्ति पनि मुछिन सक्ने जनाएको थियो । प्रहरीले जर्नेल डा। विष्टलाई पनि बोलाएर सोधपुछ गरेको थियो । उनी सैनिक अस्पताल छाउनीमा कार्यरत छन् ।

अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’ को रकम पेन्डिङमा राखेको देखाई सो रकम दीपिकाले आफूले राख्ने गरेकी थिइन् । करिब एक वर्ष अघिदेखि उनले पटकपटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ । बैंकको आन्तरिक छानबिनमै सो कुरा खुलेपछि सीआईबीमा उजुरी गरिएको थियो । दीपिकाको बयानका आधारमा अन्य कर्मचारी पक्राउ परेका हुन् ।

घोटाला भएकोमध्ये ३२ लाख रुपैयाँ जर्नेल विष्टको बैंक खातामा भेटिएको थियो । दीपिका र विष्ट आफन्त भएको प्रहरीले जनाएको छ । अहिले सो मुद्दा राष्ट्र बंैकको अनुरोधमा सीआईबीको आर्थिक अपराध हेर्ने पिलर नम्बर २ ले अनुसन्धान गरिरहेको छ । कृषि विकास बैंकको स्वयम्भू शाखाबाट पनि यसअघि करोडांै रुपैया घोटाला भएको थियो ।