जुम्ला , १३ पुस । छाउपडी प्रथा हटाउन धार्मीझाँक्रीले नै साथ दिन थालेका छन्र । छुइ अर्थात् महिनावारी भएको अवस्थामा महिला घरभित्र बस्दा ‘देवीदेवता रिसाउने र विसञ्चो हुन्छ’ भन्ने रुढीवादी मान्यताको खिलापमा धार्मीझाँक्रीले उत्रिन थालेका छन् । पछिल्लो समयमा छाउपडी अर्थात् महिनावारी भएको अवस्थामा गोठमा बस्नु भनेको सामाजिक अपराध भएको भन्दै महिला तथा किशोरीलाई घरभित्रै बस्नका धार्मीझाँक्रीले नै सल्लाह दिन थालेका छन् ।

jumlaतिला गाउँपालिका–५ डुङरीका ८० बर्षीय मष्टो धामी सन्तके रावतले महिनावारी अर्थात् छुई भएको अवस्थामा सरसफाइ गरेर घरभित्रै बस्न सल्लाह दिए । उनले भने,‘उहिलेको जस्तो अहिलेको समय होइन । गोठमा एक्लै बस्दा कुनै पनि अपराधिक घटना घट्न सक्छ । अब छुई भएको अवस्थामा पनि घरभित्र बस्नु मिल्छ भन्ने सबैमा चेताना पलाएको छ ।’

छुई भएको अवस्थामा सरसफाइ गरी आफ्नै सुत्नेकोठामा बस्दा स्वास्थ्यलाई हानी नहुने सोही गाउँका अर्का स्थानीय धामीझाँक्री कालिबहादुर रावतले बताए । झाँक्री रावतले भने,‘पहिला नबुझेर महिनावारी भएको महिलालाई गाईगोठमा राख्ने गरिन्थ्यो । अहिले अहिले चेतनाको विकास भएको छ ।’ मानदत्त रावल नयाँ पत्रिकामा लेख्छन्- उनले महिलावारी अर्थात् छुई भएको अवस्थामा गोठमा नपठाउने र सरफाइमा ध्यान दिन लगाएर घरभित्रै बसाल्ने प्रतिबद्धता जनाए ।

स्थानीय महिला सरस्वती रावतले सर्वोदय नेपाल, जुम्लाले यो गाउँमा महिला सशक्तिकरण तथा जिविकोपार्जनमा सुधार कार्यक्रम संचालन गरेको छ त्यो कार्यक्रम मार्फत महिला सशक्तिकरण कुरा हुने गरेको बताइन् । उनले भनिन्-‘महिलावारी भएको अवस्था गाईगोठमा बस्न नहुने सिकाइएको छ । गोठमा बस्दा स्वास्थ्यका हिसावले पनि राम्रो नहुने र विभिन्न अपराधिक घटना घट्न सक्ने भएकाले हामी अहिले सचेत भएकाले पनि महिनावारी भएको अवस्थामा घरभित्रै बस्न सुरु गरेका छौँ ।’