काठमाडौँ, १३ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सङ्घीय–संसद्को पूर्णताका लागि राष्ट्रिय सभाको निर्वाचन अति आवश्यक भएको बताउनुभएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक पर्ने ऐन आयोगले नपाइरहेका बेला प्रमुख आयुक्त यादवको यस्तो धारणा सार्वजनिक भएको हो ।

ayodhi-prashad-yadavप्रमुख आयुक्त यादवले हालसम्म भएका सबै निर्वाचन संविधान, ऐन, नियमावलीअनुुसार सम्पन्न भएकाले आयोगका लागि नेपालको संविधान र ऐनहरू नै ‘बटम लाइन’ भएको बताउनुभयो ।

आयोगले अब सम्पादन गर्नुपर्ने निर्वाचनहरू पनि संविधान र ऐनकै आधारमा गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘आयोगको बटम लाइन भनेको नै नेपालको संविधान र ऐनहरू नै हुन् । ’’ नेपालको संविधानको भाग ८ मा सङ्घीय व्यवस्थापिकाको व्यवस्था गरिएको छ । संविधानको धारा ८३ मा भनिएको छ, ‘‘सङ्घीय व्यवस्थापिका ः प्रतिनिधिसभा र राष्ट्रियसभाको नामका दुई सदनसहितको एक सङ्घीय व्यवस्थापिका हुनेछ जसलाई संसद् भनिनेछ । ’’

त्यसैगरी संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनको व्यवस्था छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सदस्यका लागि निर्वाचन सम्पन्न भइसकेको छ भने समानुपातिकतर्फको ११० स्थानका लागि भएको मतदानको सिट बाँडफाँट आयोगबाट हुन बाँकी छ । गोरखापत्रबाट