सन्तोष अधिकारी
दाङ, ८ मंसीर । आचारसहिंता उल्लङ्घनको उजुरी आउने थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विकाश निर्माणका कुनै पनि काम नगर्न निर्देशन दिएको छ । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्ने गरी विकाश निर्माणका काम भइरहेको भन्ने उजुरी आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङका दश वटै स्थानीय तहलाई विकास निर्माणका काम नगर्न निर्देशन दिईएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत रावलका अनुसार प्रक्रियामा रहेका बाहेक अन्य सवै बिकास निर्माणका काम निर्वाचन सम्पन्न नहुदा सम्मकालागि रोक्न निर्देशन गरिएको हो । अहिले विकाश निर्माणका कामहरु सुरु गर्दा मतदातालाई प्रभावपार्न सक्ने भन्दै उजुरी परेपछि रोकीएको रावलले बताए ।
निर्वाचनको मिति नजिकिदै जाँदा दाङमा चुनावी चहल पहल पनि तिव्र बन्दै गएको छ । जिल्लाका एक सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रका लागी मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट भैसकेको छ भने सहायक स्तरका कर्मचारी छनौट भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागी १० गते देखि १३ गते सम्म तालिम सञ्चालन गर्ने कार्यसूचि तयार पारीएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदानका लागी आवश्यक अन्य तयारीमा जुटेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा भित्रिएका मतपत्र सहितका सामग्री रुजु गर्दै सम्बन्धीत मतदान केन्द्रमा पठाउन प्याकेट बनाउने तयारीमा लागेको दाङका मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा अहिले मतपत्र सहितका सामग्री गणना गर्न कर्मचारीहरु व्यस्त रहेका छन् । अघिल्ला निर्वाचनमा जिल्लाका शहर बजार तथा ग्रामिण क्षेत्रमा झण्डा तथा तुल व्यानरले सजी सजाउ हुने गरेकोमा यस पटक आमसभा स्थल बाहेक अन्यत्र तुल व्यानर तथा पोष्टरहरु नटाँसीएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले सम्म राजनीतिक दलहरुले आचारसंहिताको पालना गरेको देखीएको रावलले बताए । स्थानीय तहमा जस्तो टि सर्ट तथा क्याप छपाएर वाड्ने गरेको बताउदै रावलले यसपटक भने दलहरुले त्यसलाई वन्द गरेको बताएकाछन् । चुनावी प्रचार प्रसारका क्रममा माईकिङ नगर्ने आचारसंहितामा उल्लेख गरेको भएपनि दाङमा त्यसको पालना नगरेको देखीएको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ निर्वाचन परीचालन कमिटिले सुक्रवार घोराहीमा गरेको घरदैलो कार्यक्रममा गाडिमा उमेद्वारलाई भोट मागेको गित वजाउदै गरेको देखीएको छ । सुक्रवार दिनभर नेपाली कांग्रेस तथा राप्रपाको झण्डा रहेको वोलेरो गाडिमा उमेद्वारलाई भोट मागेको गीत वजाउदै हिडेको पाईएको थियो । तर यसवारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनको प्रचार प्रसारको समयमा उमेद्वारहरुलाई जिताउ भन्ने जस्ता गितहरु वजाएर माईकीङ गर्न नपाईने भनेर आचारसंहितामा उल्लेख गरेको छ । आचारसंहिता उल्लङघनको उजुरी आउनासाथ अधिकृत खटाएर अनुगमन गर्न लगाईने र उल्लङ्घन भएको पाईएमा कानुन अनुसारको कार्वाही हुने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।