दाङ, ४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महराले चुनाव प्रचारसँगै पार्टी एकताको तयारी पनि भइरहेको बताए । दाङको हेमन्तपुरमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले एमाले र माओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव प्रचारमा लाग्नु नै एकताको तयारी भएको बताएका छन् ।
‘कतिपय पार्टी एकताको अवस्था हेर्दा केन्द्रमा एकता भए पनि जिल्लामा पछिसम्म भावनात्मक एकता भएको पाइदैन’– उनले भने– ‘तर, अहिले हामी तलबाटै भावनात्मक एकता गरेर माथि संगठनात्मक एकता गर्ने तयारीमा छौं । त्यसैले तपाइहरु पार्टी एक भइसक्यो भन्ने निष्कर्षका आधारमा प्रचारप्रचारमा जुट्नुस् ।’
महराले अब माओवादी नेता जाने ठाउँमा एमाले र एमाले नेता जाने ठाउँमा माओवादी नेता जान आवश्यक नभएको उल्लेख गर्दै भने– ‘हामी दुबै पार्टीका नेताले भन्ने कुरा एउटै हो, त्यसैले हाम्रो एकताको पूरै वातावरण बनिरहेको जस्तो लाग्न थालेको छ ।’
बिरोधीहरु फूटाउ र राज गरको नीतिअनुसार एमालेकहाँ गएर माओवादीविरोधी र माओवादीकहाँ गएर एमालेविरोधी गलत सूचना सुनाउने गरेको उल्लेख गर्दै उनले भ्रम चिर्दै एकताबद्ध भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए । तल्लोस्तरमा दुई पार्टीबीचका मतभेद कम हुँदै गएको उल्लेख गर्दै उहाँले कतै मतभेद नै छन् भने पनि मंसिर २१ गतेसम्म स्थगित गरेर अघि बढ्न निर्देशन दिए ।
महराको चुनावी कार्यक्रम दुई दिन स्थगित
यसैबीच महरा दुई दिनका लागि चुनावी कार्यक्रम स्थगित गरेर राजधानी गएका छन् । पार्टी पोलिटब्यूरो सदस्य एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक निधन भएपछि उनी श्रद्धाञ्जली दिन राजधानी जगएका हुन् । मंगलवारदेखि पुनः महरा चुनावी कार्यक्रममा सरिक हुने उनका सचिवालयले जनाएको छ । यद्यपि महराको क्षेत्रमा चुनावी कार्यक्रम भने यथावत रहनेछन् ।
