तुलसीपुर (दाङ) ४ मंसिर । प्रदेश नम्वर ५ का प्रहरी प्रमुख मिङमार लामाले सहरको सुरक्षाका निम्ति सिसी क्यामेरा अनिवार्य भएको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ट्राफिक व्यवस्थापन र सुरक्षा अवस्था सम्वन्धि सरोकारवालाहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनले ट्राफिक व्यवस्थापन हुन नसक्दा सहरको सुन्दरता हराउँदै गएको वताएका थिए ।
“रोडमा पार्किङ गर्ने कुरालाई निरुत्साहित गर्नुपर्दछ” उनले पार्किङ एरिया वनाएर मुख्य क्षेत्रमा महँगो र अन्य क्षेत्रमा कम पार्किङ शुल्क राखेमा मुख्य सडकमा हुने सवारी पार्किङको चाप कम हुने समेत वताए ।
काठमाडौमा नो हर्न अभियानको सुरुवात गरेका लामाले एकतर्फि बाटोमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापन सजिलो हुने समेत वताए । तुलसीपुरको सुरक्षा अवस्था वलियो हुँदै गएको वताउँदै उनले सिसी क्यामेराको जडानले झनै नगरलाई सुरक्षित वनाउने वताएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्नका लागि उपमहानगरले पहल कदमी लिने वताएका थिए । वजार व्यवस्थापन कार्यविधि वनाएर तुलसीपुरमा रहेका फुटपाथ पसल, अव्यवस्थित ठेला लगायतका समस्या समाधान गर्नका लागि उपमहानगरपालिकाले पहल सुरु गरेको जानकारी दिएका थिए ।
सो अवसरमा तुलसीपुरका विभिन्न ५० ठाउँमा सिसी क्यामेरा राख्नका लागि कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । उत्तरमा खानेपानी, दक्षिणमा गुम्राहा चोक, पुर्वमा विद्युत र पश्चिममा पातुखोला पुलसम्मका लागि पेस गरिएको प्रस्तावनामा करिव ५० लाखसम्म लाग्ने अनुमान गरिएको छ ।
