तुलसीपुर,३० कात्तिक । दाङ क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार बन्नुभएको एमाले नेता हिराचन्द्र केसीले बिगतमा काँग्रेसले जितेकै कारण पश्चिम दाङमा विकास नभएको बताउनुभएको छ ।
दंगिशरण गाउँपालिकामा बाम गठबन्धनको संयुक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै केसीले ७० सालको चुनावमा काँग्रेसले जितेकै कारण जनताको अपेक्षा अनुसार विकास नभएको बताउनुभयो । काँग्रेसका नेताहरु विकासमा भन्दा भ्रष्टाचारमा लिप्त भएकाले दाङको पश्चिम क्षेत्र विकासका दृष्टिकोणले पछाडी परेको बताउनुभयो । यसपटकको चुनावमा बाम गठबन्धनलाई जिताउन आग्रह गर्दै उहाँले आफूले पश्चिम दाङको काँचुली फेर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्यका उमेद्वार उत्तरकुमार वलीले दाङको विकासकालागी बामपन्थीले चुनाव जित्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसले जिते भ्रष्टाचार र अराजकता बढ्ने र बाम गठबन्धनले जितेमा विकाससँगै सुशासन काय हुने बताउनुभयो । उहाँले काँग्रेसका नेताहरुले बिगतमा संसद र सरकारमा हुँदा भ्रष्टाचार गरेको पैसा बाँडेर चुनाव जित्ने प्रयास गरेको दावी गर्दै पैसाको प्रलोभनमा नफस्न मतदातालाई आग्रह गर्नुभयो । त्यसैगरी बाम गठबन्धकै समानुपातिक उमेद्वार धिरज शेर्पाइलीले दाङको सम्वृद्धीकालागी बाम गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।
चुनाव परिचालन कमिटीका संयोजक महेश वलीको अध्यक्षतामा भएको कार्यक्रममा बाम नेताहरु चुर्णबहादुर वली,भरत अधिकारी लगाएतकाले बोल्नुभएको थियोे । यस्तै,बबई गाउँपालिकामा पनि बाम गठबन्धनको संयुक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । जितबहादुर केसीको अध्यक्षमा कार्यक्रम भएको थियो ।
त्यसैगरीतुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडरमा पनि बाम गठबन्धनले चुनावी भेला गरेको छ । भेलालाई प्रतिनिधीसभा सदस्यका उमेद्वार हिराचन्द्र केसी,३ को क का प्रदेशसभा सदस्यका उमेद्वार जगप्रसाद शर्मा अपार,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगाएतकाले सम्बोधन गर्नुभएको बाम गठबन्धन क्षेत्र नम्बर ३ का संचार संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ ।