घोराही, २४ कार्तिक। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल विकास शिक्षाको तहबाटै शैक्षिक सुधार गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला शिक्षा कार्यालय दाङले शुक्रबार उपमहानगरमा आयोजना गरेको बित्तिय हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बाल शिक्षाको जगबाटै शैक्षिक गुणस्तर काम गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको हो ।
सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कनु र अभिभाबकहरुको आकर्षणमा निरासा हुनु चुनौतीपूर्ण बिषय भएको उहाँको भनाई छ । त्यसका लागि अब बाल बिकास तहबाटै शिक्षामा गुणस्तरीयता र सुधार ल्याउन उहाँले प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको हो । विभिन्न विद्यालयहरु गाभ्नु पर्ने अबस्था आएको प्रति संकेत गर्दै नगर प्रमुख चौधरीले विद्यार्थीलाई टिकाउने र अभिभाबकलाई बिश्वास जगाउने शिक्षा अहिलेको आबस्यकता भएको बताउनुभयो ।
पैसा र बिभिन्न सेवा सुबिधा दिएर पनि विद्यालय नआउने तर पैसा धेरै तिरेर निजि स्कुलहरुमा जानेको संख्या बढ्दो रहेको भन्दै अब पैसा नभई गुणस्तरीय शिक्षा दिन तर्फ आफुहरुले निति बनाउने जानकारी समेत दिनुभयो । अब विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाई सुरु गर्नुपर्ने बाध्यता आएको समेत बताउनुभयो । शिक्षकहरुलाई अब अंग्रेजी बोल्न, लेख्न र पढ्न समेत सिक्ने बाटोमा अघि बढ्न निर्देशन दिनुभएको छ ।
