
सूचना तिमल्सिना
आराधनालाई झ्याल मन पर्छ । यो नयाँ घरमा कोठा रोज्नुका कारण पनि यसमा भएको झ्याल र यसबाट देखिने दृश्य थिए । नत्र उसले कलेज नजिकै कोठा लिने थिई । आफ्ना फुर्सदको समय कटाउन र एक्लोपनालाई हटाउन आराधाना झ्यालको पर्दा हटाएर बाहिरका दृश्यमा रमाउँछे । झ्याल खोल्दा आराधनाको आँखा पल्लो घरको झ्यालमा उभिएको अग्लो, गोरो, चस्मा लगाउने केटामा पर्छ । जब आराधना झ्याल खोल्छे । त्यो केटा उसको झ्याल ताकेर बसिरहेको पाउँछे । झ्यालमा बसेर ऊ के–के गर्छ कुन्नि आराधनालाई नियाल्न आँट आउँदैन । उसले त्यस केटालाई बेवास्ता गर्न खोज्दा खोज्दै पनि झ्यालको पर्दा हटाउना साथ ऊ देखा पर्छ । उसको नजरबाट बच्न आराधनाले कति दिन झ्याल खोलिन । पर्दा हटाइन । तर छिमेकी घर भएकाले उसले केटालाई बरन्डामा देख्छे । घर अघि बाटोमा देख्छे । सँगै चड्ने गाडीमा देख्छे । जसले गर्दा उसको ध्यान त्यस केटातर्फ तानिन्छ ।
पढ्दा पढ्दै उसलाइ अल्छी लागेर आयो । उसले झ्यालको पर्दा तानी । झ्याल खोली । केटा पनि उसैगरी झ्याल खोल्दै रहेछ । उनीहरूको आँखा जुधे । उसलाई कता कता अप्ठ्यारो लाग्यो । अनि आराधनाले आफ्नो नजर पर हरियो चौरमा दगुराई । अघिपछि जस्तो हरियो चौरले उसको ध्यान खिचेन । उसले फेरि झ्यालमा नजर डुलाई । केटा मुस्कानका साथ आराधनापट्टि फर्किरहेको रहेछ । आराधनालाई जिउमा काँडा उम्रिए जस्तो भान भयो । अब उसले योभन्दा बढी केटालाई हेर्ने आँट आएन । उसले झ्याल बन्द गरी । कोठामा गएर किताब समाई । उसको ध्यान किताबमा पनि अडिन सकेन । मुस्काउँदै उपट्टि फर्किरहेको केटाको याद आयो । आफूलाई नियन्त्रणमा राख्न उसले नोट सार्न लागी ।
आराधना हतारमा गाडी चढी । ऊ आज अबेरसम्म निदाएकाले कलेज पुग्न आतुर छे । गाडीमा सिट रहेनछ । त्यसैले ऊ एक सिट नजिकै उभिई । धन्य ! त्यो सिटवालाले चाँडै गन्तव्य सिद्धिएको सहचालकलाई जनाउँछ । आराधानालाई बस्ने सङ्केत गर्दै बाहिरिन्छ । आराधना बस्न लाग्दा उसको नजर पल्लो सिटमा बसेको केटामा पर्छ । ऊ त्यही केटा रहेछ । खोइ किन हो ऊ पुलुक्क हेरेर आफ्नै दुनियामा रमाउँछ । केटासँगको यति नजिकको सामीप्यता पहिलो थियो । आराधना असमनजसमा पर्छे । उसलाई त्यो केटासँग बोल्न मन लाग्छ । तर केटाले ऊपट्टि ध्यान नदिएकाले उसले यो सोचलाई मारी । अनि उसले निर्णय गरी अब म यो केटालाई कुनै हालतमा ध्यान दिने छैन । साच्चिकै उसले त्यो झ्यालको वास्ता गर्न छाडी । उसले झ्यालबाट हरियो चौरमा फुटबल खेलेका केटाकेटीलाई नियाली । घरको छतबाट बढ्दै गरेको घरहरूको सङ्ख्या नापी । परपर रहेका ससाना पहाड रुँघी । एक हप्ताको सफलता पछि उसले सोची ऊ र म एक अपरिचित व्यक्ति हौँ र यतिकैमा हाम्रो कहानी सिद्धिनेछ ।
आराधना कलेजबाट फर्कंदा अबेर भयो । ऊ घर पुग्ने बेला कसैले खुट्टा घिसारेको आवाज सुनी । उसले अनुमान लगाई पक्का उही केटा हुनुपर्छ । पछाडि नफर्किने अडानलाई फिर्ता लिँदै उसले फर्किएर हेरी । उसको अनुमान सही रहेछ । ऊ मुस्कानसहित पछिपछि आइरहेको रहेछ । आराधानाले खुशीका साथ छिटोछिटो पाइला चाली । उसलाई लाग्यो बल्ल चेतेछ । मेरो एक हप्ताको बेवास्ताले आज ऊ खुट्टा घिसारी मलाई हेर्न बाध्य तुल्यायो । अब उसले बेवास्ता गर्नुको औचित्य ठानिनँ । ऊ चिसो हावा लिन कौसीमा गई । ऊ पनि कौसीमा रहेछ । आज भने आराधलाई यो साँझको दृश्यले निकै छोयो । वरिपरि घरबाट निस्केका प्रकाश झन् चम्किला लागे । आकाशमा पिलपिल गरिरहेका तारा प्यारा लागे ।
आराधानाले आफूलाई परिवर्तित पाउँदैछे । तर यो परिवर्तन किन उसमा ? आफैले चाल पाउन सकेकी छैन । के उसले त्यो केटालाई मन पराउन थालेकी हो ? ऊ यो कुरा पत्याउन चाहन्न । जोसँग अहिलेसम्म कुराकानी गरेको छैन । जसको नामसमेत थाहा छैन । त्यस्तो अन्जान व्यक्तिलाई ऊ कसरी मन पराउन सक्छे ? तर उसमा परिवर्तन भने जरुर भएको छ । अस्ति बाटोमा हिँड्दै गर्दा केटालाई भेटी । केटा उसको विपरीत साइडमा हिँडिरहेको रहेछ । उनीहरूको आँखा जुधे । आराधनालाई आफ्नो श्वास अड्के जस्तो लाग्यो । ऊ पहिलेको जस्तै गरी हिँड्न नसक्ने भई । उसले हिँडाइको चाल घटाई । केटा पनि सुस्त हिँड्न थाल्यो । यो देखेर उसको मुटु ढुक्क फुल्यो । अघिसम्मको आज चाहिँ बोल्छु भन्ने उसको आँट गायब भयो । ऊ निहुरिएर हिँड्न थाली ।
तीन महिनासम्ममा उनीहरूको मौन भेटघाट र देखादेख राम्रैसँग बाक्लिन थालेको थियो । आराधनाले अघिपछि जस्तै आज पनि झ्याल खोली । बाहिर पानी परिरहेको रहेछ । केटा झ्यालबाट हात निकालि पानी चलाउँदै रमाइरहेको रहेछ । निलो सर्टले उसको गोरोपनलाई अझ निखार ल्याएको देखिन्छ । आराधना यस दृश्यलाई नियालिरहन्छे । उताबाट केटाले पनि देख्छ । उसले हसिलो मुहार लगाउँछ । आराधना यस क्षणलाइ कैद गर्दै पानीमा रमाउन थाल्छे । तर ढोका बजेको आवाजले उसको यो रमाइलोपनमा दखल पुग्छ । उसको साथी ऊसँग पढ्न आइपुग्छे । उसलाई पढ्न मन थिएन । तर परीक्षा नजिकै थियो । ऊ पढ्न थाली । बेला बेला आएको निलो सर्टको यादले उसलाई झस्काउँछ । ऊ फेरि ध्यानमग्न भई पढ्न थाल्छे ।
आराधनाले कुन सिटमा बसौँ भनि निर्णय सक्दिनँ । त्यसैले माइक्रो बसमा आँखा घुमाउँछे । उसको आँखा राम्री केटीमा पर्छ । ऊ त्यही केटीको सिट पछाडि गई बस्छे । उसको बोली, उसले लगाएको कपडा र उसको सौन्दर्यले आराधानालाई पनि चकित तुल्याउँछ । गाडी हिँड्न लागेको बेलामा केटा पनि आइपुग्छ । केटा हाँस्दै ऊ पट्टि आउँछ । आराधाना पनि उसलाई हेरेर हाँस्छे । आज भने उनीहरूको वार्तालाप सुरु हुने भयो भनी मख्ख पर्छे । तर केटा उही राम्री केटीको नजिकको खाली सिटमा बस्छ । केटीले धेरै पछि भेटेको कुरा बताउँछे । अनि उनीहरू गफमा मस्त हुन्छन् ।
आराधनाको मुटु पोल्छ । उसलाई त्यो गाडी छोडेर भागौँ झैँ लाग्छ । घर पुगेर आराधना आफूले आफैलाई सम्झाउँछे । ‘भयो आराधना अब त्यो केटालाई ध्यान दिन छाडिदे ।’ तर ऊ आफूलाई मनाउन सक्दिनँ । फेरि ऊ आफूलाइ सोध्छे । को हो त्यो ? तैले यसरी मन कुँडाउनु ? उसको प्रतिउत्तरमा उसले मन पराएको केटा भनेर पाई । उसले अब त्यो केटालाई मन पराएको केटाको दर्जामा राखेकी छे । बल्ल उसको मन शान्त भयो । अनि त्यो बाटामा भेटिएको राम्री केटी त्यो केटाको साथी मात्र होस् भनी प्रार्थना गर्न थाली ।
आराधनालाई निद्रा पर्दैन । ऊ गीत सुन्छे । किताब पढ्छे । तर पनि निन्द्रा पर्दैन । त्यसैले झ्याल खोलेर बाहिर हेर्छे । बाहिर हेरेपछि उसले चाल पाउँछे । आज पूर्णिमाको रात रहेछ । उसलाई किन किन पल्लो घरको शान्त झ्याल नियाल्न मन लाग्छ । उसले हेर्दा हेर्दै पल्लो झ्याल खुल्छ । झ्याल खुलेपछि आराधाना अलमलमा पर्छे । केटाले उसलाई एकोहोरो हेर्न थाल्छ । आज ऊ पनि अन्त आँखा नघुमाईकन केटालाई हेरिरहन्छे । उसको मुटु धड्कन तेज हुन्छ । उसका गाला रातो हुँदै जान्छन् । धन्य ! केटाले औँलाको इशाराले माथि देखाउँछ । नत्र ऊ त्यहाँ उभिरहन नसक्ने अवस्थामा पुगेकी थिई । आराधना उसको इसारामा आकाश हेर्छे । लामो श्वास तान्छे । ऊ समूहमा बसेको ताराहरूको आकृति कोर्न थाल्छे । पूर्ण चन्द्रमाको आकृतिलाई एकाकर भएर घुर्न थाल्छे । बल्ल उसको मुटुको धडकन शिथिल हुन्छ । ऊ फेरि छड्के आँखाले पल्लो झ्यालको जाँच गर्छे । त्यो बन्द भइसकेछ । पर रहेको रूखमा शीतका थोपा देखेर ऊ आतिन्छे । रात छिप्पिएको अन्दाज गर्दै ऊ झ्याल बन्द गरी ओछ्यानमा पल्टिन्छे । ऊ कुन बेला निदाई चाल पाउदिनँ ।
आराधना परीक्षापछिको बिदामा घर फर्किन । पहिले ऊ सधैँ बिदा पर्खिन्थी । तर यो पाला उसलाई घर जान मन लागेको छैन । गाउँबाट बाबा आमाले घर फर्की भनेर धेरै प्रयास गरे । उसलाई यो प्रिय कोठा छोड्न मन छैन । पहिला फिक्का लाग्ने यो काठमाडौँ अब रङ्गीन लाग्न थालेको छ । खालि समयमा वसन्तपुरमा चित्र बनाउन सिक्न थालेकी छे । आजकल धेरै दिनदेखि पल्लो झ्याल बन्द छ । त्यो बन्द झ्यालले सताउन थालेको छ । त्यो केटालाई उसले कहीँ कतै देखेकी छैन । त्यसैले त ऊ घर नगएकोमा गुनासो गर्छे । “बेकारमा गइनछु ।”
दुई हप्तापछि ऊ केटालाई बाटामा भेट्छे । उसले केटाको हातमा रहेको चुरोट देख्छे । केटा आराधानाले हेरेको चाल पाएर हात विस्तारै पछाडि लैजान्छ । आराधाना उसको क्रियाकालाप हेरिरहन्छे । उसलाई यो दृश्य कताकता मन पर्छ । केटा चुरोट खाँदो रहेछ त आराधाना भन्ने स्वयंको प्रश्नलाई यसरी खण्डन गर्छे । मेरा हजुरबाले नि चुरोट खाएकै हुन् । मेरा बाबा पनि खाँदै छन् । अब यसले खाएर के फरक पर्छ र ? हुन त आराधनाले बाबाले खाएको चुरोट कति पटक फालेकी थिई । कति पटक नखान चेतावनी दिएकी थिई । अनि घरमा भनेकी थिई, म यस्ता चुरोट खाने केटा त कुनै हालतमा विवाह गर्ने छैन । तर आज आराधानाले मत परिवर्तनको धारणा ल्याएकी छ । अनि उसले साथीलाई यसरी बयान गरेकी छे । आजकाल मलाई चुरोट खाने केटाहरू ‘कुल’ लाग्छन् ।
आराधना, उसको धड्किएको मुटु, सधैँ भेट्न, देख्न खोज्ने इराधानाले त्यो केटालाई मन पराएको भनी विश्वस्त भएकी छे । यही भावनालाई समेटी गातिलो प्रेमप्रत्र लेखी । तर प्रेमपत्र पठाउन न नाम छ, न दिने आँट नै । त्यसैले आराधनालाई यो मौनता तोड्न मन छ । अनि उसलाई जान्न मन छ । तिमी किन मलाई यसरी एकहोरो हेर्छौ ? के तिम्रो पनि मुटु मेरो जसरी नै धड्किन्छ ? अझ उसलाई सोध्न मन छ, डु यु लाइक मी ? उसले बोल्न प्रयास नगरेकी होइन ।
जब केटा उसको अगाडि पथ्र्यो । उसको बोली बन्द हुन्थ्यो । अहिलेसम्म कुण्ठित रहेको उसको चाहना उसलाई प्रस्फुटन गर्न मन छ । बाहनामा होस् या यथार्थमा उसलाई त्यो केटासँग बोल्नुछ । मनको कुरा खोल्नुछ । कहिलेकाहीँ ऊ डराउँछे । यो उसको भ्रमित प्रेम हो कि भनेर । तर केटाले ऊप्रति देखाएको व्यवहारले उसलाई विश्वस्त तुल्याउँछ । त्यसैले त ऊ आफ्ना भावनाको अभिव्यक्ति गर्ने दिनको पर्खाइमा छे । रातोपाटीबाट
क्रमस :











