सल्यान, १ असार
एनसेलको टावरमा आगजनी गरेको अभियोगमा सल्यान प्रहरीले विप्लव नेतृत्वको नेकपा माओवादीका एक जना जिल्ला नेतालाई पक्राउ गरेको छ । एनसेलको वेस स्टेशनमा आगजनी गरेको अभियोगमा उक्त पार्टीका सल्यान सह–सेक्रेटरी लोकपाल केसीलाई आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

feature

जनपरिषद्का सल्यान प्रमुख समेत रहेका केसीलाई सुराकीको आधारमा कोर्वाङ झिम्पेबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्रीले जानकारी दिनुभयो । जिल्लाको जैतपानी र माल्टा ढाँरखानी स्थित एनसेलको वेस स्टेशनमा आगजनी गरेको र छाँयाछेत्रको टावरमा आगजनीको प्रयास गरेको आरोपमा सह सेक्रेटरी केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्टेशनमा आगो लगाउने कार्य बढेपछि सल्यानमा रहेका एनसेलका २१ वटा वेस स्टेशनमा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीको सक्रियता तथा स्थानीयको सहयोगमा टोल सुरक्षा समिति गठन गरि जिल्लाभरका एनसेल टावरको सुरक्षा प्रवन्ध मिलाएको डिएसपी खत्रीले बताउनुभयो ।

यसैविच आफ्नो नेता केसीलाई आशंकाको भरमा नियन्त्रण लिएको भन्दै माओवादी सल्यानले भत्र्सना गरेको छ । नेकपा माओवादी सल्यानका सेक्रटरी डिल्लीराज शर्मा विश्वले विज्ञप्ति जारी गर्दै नेता केसीको विनासर्त रिहाको माग गर्नुभएको छ । यता दाङमा पनि प्रहरीले ४ जना माओबादीका जिल्ला सदस्यलाई पक्राउ गरि दुरसंचार प्रणाली ध्वस्त पारेको शिर्षकमा मुद्धा दर्ता गरी कार्वाही प्रकृया सुरु गरेको छ ।।