धनिराम शर्मा(ऋतुविचार)
केन्द्रीय अध्यक्ष नेपाल पर्यटन पत्रकार संघ
पर्यटन बीटमा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका बरिष्ठ टेलिभिजन पत्रकार, लेखक तथा पर्यटन अभियान्ता धनिराम शर्मा(ऋतुविचार) नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ , गोरखापत्रको सम्वादाताबाट पत्रकारिता थाल्नु भएका शर्मा, सवा दशक देखि यता छापा, टिभी, रेडियो र अनलाईन पत्रकारितामा निकै सकृय हुनुहुन्छ, व्यवसायीक मिसनमा विश्वास गर्ने शर्मा एबीसी टेलिभिजनको व्यूरो प्रमुख समेत हुनुहुन्छ । उहाँको संयोजनमा यतिबेला बर्दियाको ठाकूरद्धारामा असोज ४ र ५ गते राष्ट्रिय महाधिवेशन हुदै छ यसैमा केन्द्रीत भएर हामीले उहाँसंग कुराकानी गरेका छौ ।
-यहाँलाई स्वागत छ ।
धन्यवाद
-महाधिवेशनको तयारी कस्तो छ ?
हामी ऐतिहासिक राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा छौ ।
-महाधिवेशन किन गर्दै हुनुहुन्छ ?
महाधिवेशन खास गरि एउटा विधि हो, जसले नेतृत्वको विकाससंगै समग्र संघको नीति कार्यक्रम सहित नयाँ योजना र कार्यनीतिलाइ निर्देश गर्नका लागि हो ।
-पर्यटन पत्रकार संघ किन ?
विशेष गरि मुलुकले एउटा राजनीतिक कोर्ष पुरा गरिसकेको छ, राजनीतिको उदेश्य पुरा गर्नका लागि अब आर्थिक कोर्ष पुरा गर्नुछ, विभिन्न आन्दोलनले देखेका आर्थिक समृद्धिको सपना पुरा गर्नका लागि अब सबैको ध्यान त्यता पुग्नुपर्छ, नेपालको आर्थिक विकासका आधार कृषि, पर्यटन र उर्जा नै हो, यीनको विकास विना हामीले देखेको आर्थिक समृद्धिको सपना पुरा हुन सक्तैन तसर्थ अब पत्रकारिताले पनि यीनै विषयलाई प्रधान बनाएर व्यवसायीकता आरम्भ गर्नुपर्छ, यसमा पनि पर्यटन क्षेत्र नेपालको सन्दर्भमा सबै भन्दा संभावना छ, प्रकृतिले दिएको हाम्रो सुन्दरताको बजारीकरण गर्न सकेमा हामी गरिबीको परिचय बनाएर बस्नु पर्ने छैन । यसर्थमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा मिडियाकर्मीकोे अहम भूमिकालाई व्यवसायीक र सांगठनिक रुपमा स्थापित गर्न हामीले पर्यटन पत्रकार संघ गठन गरि देशभर क्रियाशिल छौ, त्यसैको सन्दर्भमा हामी अहिले महाधिवेशनको व्यापक तयारीमा छौ ।
– बीट पत्रकारिताको संभावना छ ?
हेर्नुस् अब नेपाली पत्रकारिताको ट्रेडिसनल प्याटर्नको क्रमभंगता गर्नैपर्छ, बीटहरुको विशिष्टीकरण गर्न आवस्यक छ, पत्रकारले आफूलाई दक्ष र योग्य सावित गर्ने हो भने उसले मुख्य रुचीको विषयमा आफूलाई केन्द्रीत गर्न सक्नुपर्छ यदी सकेन भने, अब उसको पेशागत बजार जोखिममा पर्न सक्छ, तसर्थ नयाँ परिस्थितिको आवस्यकता अनि पत्रकारितामा विशिष्टिकरणको अपरिहार्यता भैसकेको छ, पत्रकारले आधाभूत रुपमा सबै विषय जान्नु जरुरी छ तर अब उसले निश्चित विधामा दक्षता हासिल गर्न आवस्यक छ, जसले उसको गर्विलो पहिचान बनाउन सकोस्,पेशागत सुरक्षासंगै आर्थिक जीवनपनि सुधार हुन सकोस् त्यसैको लागि अब बीट पत्रकारिताको आवस्यक छ, अझ भन्नु हुन्छ भने, मुलुक संघीयतामा गैसकेपछि झनै यसको आवस्यकता खडिकएको हो ।
-पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
नेपाल पर्यटनको हिसाबले निकै संभावना भएको भनेर हामीले गीत गाउन थालेको ६ दशक भैसक्यो, सन १९५७ –१९६१ को प्रथम पन्चवर्षिय योजनादेखि नै पर्यटन उद्योगलाई योजनावद्ध विकासमा राज्यले प्राथमिकता दिएको देखिन्छ तर सही नीति योजनाहरु बन्न र प्रभावकारी कार्यान्वनको अभावमा हामीले पर्यटन क्षेत्रको संभावित योगदानलाई अधिकतम उपयोग गर्न सकेका छैनौ, पछिल्लो तथ्याँक हेर्ने हो भने पर्यटनले वार्षिक ४२ अर्व रुपैया चोेखो कमाइ गरेको पाइन्छ , प्रतिशतमा लैजादा करिब ५ प्रतिशत योगदानमा पुगेको तथ्याँक छ । तर संभावनाको हिसाबले यो अत्यन्तै न्यून हो, यसर्थमा अब पर्यटन उद्योगको विकासको लागि पत्रकारिताले नै धक्का दिनुपर्छ भन्ने उदेश्यले पर्यटन पत्रकारिता गर्ने पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघ गठन भएको हो । पत्रकारहरुको पेशागत तथा व्यवसायीक सुरक्षा, क्षमता लगायतका तमाम समस्या हल गर्दै पत्रकारिताको अहम दायित्वलाई पुरा गर्न हामी यतातर्फ ध्यान केन्द्रित गरेका छौ, हाम्रो मिसन बीट पत्रकारिताको प्रवद्र्धन,पेशागत सुरक्षा र व्यवसायीक क्षमता विकाससंगै मुलुकको समावेशी आर्थिक विकासको लागि पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न मिडिया र मिडियाकर्मीको अहम भूमिकालाई घनिभूत बनाउनु हो ।
-महाधिवेशनको मुख्य नीति र कार्यक्रम कस्ता छन् ?
संघ भर्खरै ४ वर्षमा हिड्दैछ, मोफसलमा रहेर हामीले बीट पत्रकारिताको विकास गर्ने दुस्साहसका साथ संघ स्थापना गरेका हौ, तसर्थ यसले तय गर्ने स्पष्ट नीति र कार्यक्रमले हाम्रा सदस्यहरुको पेशागत सुरक्षा र व्यवसायीक दक्षता अभिवृद्धि गर्ने भएकोले यसतर्फ हामी निकै चनाखो छौ, हालसम्म करिब ४० जिल्लामा संघ स्थापना भएको छ, महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब डेढ सयको सहभागिता हुनेछ , एक जिल्लाबाट तीन जना एक जना महिला अनिवार्य हुने गरि राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आउदै हुनुहुन्छ, यति ठूलो सहभागितामा हामीले पर्यटकीय जिल्ला बर्दियाको ठाकुद्धारामा यही असोस ४ र ५ गते कार्यक्रम गर्दैछौ, महाधिवेशनले मुख्य गरि पर्यटन पत्रकारहरुको पेशागत तथा व्यवसायीक विकासको नीति तय गर्नेछ भने सदस्यहरुको क्षमता अभिवृद्धि र पेशागत रुचीलाई अभिवृद्धि गर्न तालिम प्रशिक्षण, अवलोकन भ्रमण, कार्य रुचीलाई अभिवृद्धि गर्न पुरस्कारको व्यवस्था, दुघर्टना बीमा, स्वास्थ्य बीमा, पर्यटन पत्रकार आकस्मिक सहायता अक्षकोष स्थापना, लेखनअभिवृद्धि कोष स्थापना ,सन्ततीको स्वास्थ्य शिक्षाका लागि साहयता कार्यक्रम,प्रविधि खरिदमा अनुदान तथा निव्र्याजे कर्जाको व्यवस्थाको पहल,निजी क्षेत्रको सहकार्यमा निशुल्क यातायात सुविधा र श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको लागि दबाव जस्ता कार्यक्रमहरु तय हुनेछन्,सारमा भन्नुपर्दा हाम्रो उदेश्य लक्ष्य र योजना कुनै पनि पत्रकारले पत्रकारिताको आचारसंहितामा बाँधिएर उसको क्षमता, दक्षता, कला, सीप, जाँगर बेचेर जीवन धान्न सकोस् र आर्थिक अभावमा तड्पिन नपरोस् भन्ने नै हो ।
-नेतृत्व चयन कसरी हुदैछ ?
राष्ट्रिय महाधिवेशन संघको सर्वाेच्च निकाय हो, विधानतः यसले गर्ने फैसला नै अन्तिम हुन्छ, महाधिवेशनले संघको केन्द्रीय समिति र प्रदेश संयोजन समिति निर्माणसंगै नयाँ नीतिहरु अनुमोदन गर्नेछ । मुख्य गरि भन्नु पर्दा विशुद्ध गैर राजनीतिक पेशागत र व्यवसायीक संगठन भएकोले यसको गरिमा र मर्मलाई आत्मसाथ गर्दै हामी समावबेशीे सिद्धान्तका आधारमा सहमतिबाट केन्द्रीय नेतृत्वको संरचना बिस्तार गर्दछौ, हामी प्रारम्भमै भएकोले हामी निर्माणको चरणमा छौ, यतिमात्र होइन हाम्रा सदस्य साथीहरु अत्यन्तै सुझबुझको हुनुहुन्छ, यद्यपी पछिल्लो समययता जुनसुकै पेशागत संगठनमा भएका तथानाम लफडाबाट हामी जोखिनुपर्छ, जोगिन नसके भोलि संकटमा पर्न सकिन्छ भन्ने बुझेकाले हामी प्रथम राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतीबाट हामी संगठित हुदैछौ ।
-महाधिवेशन जस्तो ठूलो कार्यक्रमलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
सही प्रश्न गर्नु भो, हाम्रो ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन सबै क्षेत्रको सकारात्मक सहयोग छ, पर्यटन बोर्ड , पर्यटन मन्त्राल, पर्यटन व्यवसायी, विशेष गरी पर्या पर्यटन विकास मञ्च राष्ट्रिय निकुन्ज ठाकूरद्धारा बर्दियाको ठूलो सहयोग छ, यसै गरि होमस्टे संचालक समिति, संचार क्षेत्र, राजनीतिक दल,स्थानीय समुदाय इत्यादी सबैको सबै खाले सहयोग र साथले हामी यतिठूलो कार्यक्रम गर्न कस्सिएका हौ, व्यवस्थापिकीय हिसाबले निकै महंगो हुने भएपनि सबैको साथ र हातले महाधिवेशन सफल बनाउन लागि रहेकाछौ । पत्रकारहरुको आर्थिक अवस्था कमजोर नै हुन्छ, यसर्थमा महाधिवेशनसम्म उनीहरुलाई पुराउन, बसाउन र नयाँ योजनाकासाथ फर्काउन निकै चुनौति छ तर पनि सबै चुनौति सामना गर्न हामी तयार छौ, सबैखाले चुनौतिहरु पार गर्दै महान संभावनाको मार्गचित्र कोरेर हामी बर्दियाबाट फर्कने छौ ।
-पर्यटन विकासमा राज्यको भूमिका कस्तो छ ?
नीतिगत रुपमा राज्ले ६ दशक अघि देखि नै आर्थिक विकासको आधार मानेर योजनावद्ध विकासमा समाहित त गरेको छ तर कार्यान्वयन गर्ने संरचना र लगानीमा भने अझै प्रभावकारी भूमिका निभाउन सकेको छैन, यद्यपी पर्यटन आफैमा विशाल क्षेत्रसंग सम्बन्धित भएर पनि होला, तरपनि दुइ पटकसम्म बनेका गुरुयोजनाहरु खासै कार्यान्वयन हुन सकेनन् भने सन २०१६–२०२५ को नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना पनि कति कार्यान्वयन होला भन्ने प्रश्न जन्मीएको छ। तर पनि आशा गरौ । राज्यले अब पर्यटन पूर्वाधारमा व्यापक लगानी अनि निजी क्षेत्रलाई पर्यटन विकासमा नेतृत्व दिन सक्ने र संचार क्षेत्रलाई उपयोग गर्न सकेमा पर्यटन क्षेत्रमा दशकभित्र कायापलट गर्न सकिन्छ ।
-अन्तमा केही छ ?
अन्तमा मलाई र मेरो नेतृत्वको संघको नीति कार्यक्रम र आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा मेरो धारणा राख्न दिनु भएकोमा विशेष त तपाई अनि तपाईको मिडियालाई धन्यवाद दिन चाहान्छु, ।