दाङलाई प्राविधिक शिक्षाको हव बनाएर पश्चिम नेपालका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेर प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले दाङको घोराहीमा शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ । लुम्बिनी प्रदेशकै नमूना यस शिक्षालयमा अहिले डिप्लोमा तहमा विभिन्न ८ ओटा विषयको पढाइ भइरहेको छ । आगामी दिनमा थप बिभिन्न कार्यक्रमहरू ल्याउने तयारी शिक्षालयको छ । प्रस्तुत छ यसै सन्दर्भमा शिक्षालयको स्थापना,सेवा सुबिधा,पढाइ हुने बिभिन्न बिषय र शिक्षालयको आगामी योजना लगायतका बिभिन्न बिषयमा केन्द्रित भएर शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख अच्युतराज दाहाल संग गरिएको कुराकानीको सम्पादित अंस – सम्पादक ।
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका कुन कुन विषयको पढाई भइरहेको छ ?
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अहिले डिप्लोमा तहमा होटल म्यानेजमेन्ट, फरेस्ट्री, प्लान्ट साइन्स, आर्किटेक्चर इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी , फार्मेसी, रेडियो ग्राफी र मेडिकल ल्याब टेक्नोलोजी गरेर आठ वटा विषयको पढाई भइरहेको छ ।
यी विषयहरू अध्ययन गर्नका लागि विद्यार्थीले कति शुल्क तिर्नुपर्छ ?
सबै विषय पूरा गर्नका लागि तीन वर्षमा विद्यार्थीहरूले ९५ हजार शुल्क तिर्नुपर्छ । हामी संग भएका यी कार्यक्रमहरू निजी प्राविधिक शिक्षालयहरु पढ्दा विद्यार्थीहरुले यो भन्दा निकै महँगो शुल्क तिर्नुपर्ने हुन्छ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक शिक्षालय भएकाले हामी कहाँ निकै सस्तो शुल्क छ । गत बर्ष सम्म हाम्रो शिक्षालयमा पनि स्वास्थ्य कार्यक्रममा बिद्यार्थीहरुले १ लाख ५६ हजार रुपैयाँ तिर्ने गरेका थिए तर यो बर्ष शुल्क समायोजन गरेर हामीले सबै बिषयको जम्मा ९५ हजार शुल्क लिने गरेका छौं । यसका अतिरिक्त हामीले जेहन्दार छात्रवृत्ति र अन्य छात्रवृत्ति गरेर प्रत्येक कार्यक्रममा २-३ जना बिद्यार्थीहरुलाई निशुल्क पढाउने गरेका छौं ।
डिप्लोमा तहका ८ वटा कार्यक्रम भनेको त धेरै भएन र ? आगामी दिनहरुमा पनि केहि बिषय थप गर्नुहुन्छ कि ?
हो धेरै हो । एउटा शिक्षालयमा ८ वटा डिप्लोमा तहका कार्यक्रम चलेको हो नै एउटा शिक्षालय हो । यस क्षेत्रका विद्यार्थीहरुको माग र सिटिइभिटीको नमुना आंगिक शिक्षालय भएकाले यो शिक्षालयमा यति धेरै कार्यक्रमहरु संचालनमा आएका छन् । कार्यक्रम थप गर्ने सम्बन्धमा अब हामीले तत्कालै स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रम थप गर्ने योजना गरेका छौं । आगामी दिनमा नजिकैका सरकारी अस्पतालहरु संग सहकार्य गरेर नर्सिङ र हेल्थ असिस्टेन्ट विषय अध्यापन गर्ने तयारी भइरहेको छ । समयको माग र आवश्यकता अनुसार अन्य प्राविधिक विषयहरू थप गरिने छ ।
विद्यार्थीहरूको सीप विकासका लागि तपाईँहरूसँग प्रयोगात्मक अभ्यासको व्यवस्था कस्तो छ ?
प्राविधिक शिक्षा भनेकै प्रयोगात्मक शिक्षा हो । प्रयोगात्मक अभ्यास विना प्राविधिक शिक्षाको कुनै काम छैन । विद्यार्थीलाई सीप सिकाउनका लागि शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीले विद्यार्थीहरूलाई ‘पढ्दै कमाउँदै’ को नारा अघि सारेको छ । अब हाम्रो शिक्षालयमा पढ्ने विद्यार्थीहरूले त्यहीँ काम गरेर आम्दानी गर्ने छन् । त्यसका लागि शिक्षालयमा उत्पादन इकाई स्थापना गर्न थालिएको छ । अबको तीन महिना भित्र उक्त इकाईले काम गर्न शुरु गर्ने छ । केही समय पहिले नै उक्त इकाई शुरु गर्ने लक्ष्य राखिएपछि अहिले कोरोना महामारीका कारण विद्यार्थीहरूको भौतिक उपस्थितिमा काम गर्न नसक्ने भएकाले शुरु हुन सकेको छैन । अबको तीन महिनामा धेरै नेपालीले खोप लगाइसक्ने भएकाले विस्तारै जनजिवन सहज हुने देखिन्छ । जनजिवन सहज भएसँगै विद्यार्थीहरूको भौतिक उपस्थितमा हामीले काम गर्ने छौं । यसले विद्यार्थीहरूले आफ्नो विषयमा प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्ने छन् भने आम्दानी समेत गर्न सक्ने छन् । केही समय भित्र पाउरोटी उत्पादन शुरु गरिने छ । त्यसैगरी फुड एण्ड डेरीका विद्यार्थीहरूले डेरी जन्य बस्तु उत्पादन गर्ने छन् ।
विद्यार्थीहरूलाई ती बस्तु उत्पादनका लागि विषय विज्ञ प्रशिक्षकहरूले सहजिकरण गर्नुहुने छ । उत्पादित बस्तुको बजारिकरण गर्नका लागि शिक्षालयले सहयोग गर्ने छ । हामी यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई रोजगार तथा स्वरोजगार बनाउन चाहन्छौँ । साथै विद्यार्थीहरूलाई नर्सरी मार्फत बेर्ना उत्पादन गर्न लगाइने छ । उत्पादन इकाई मार्फत विद्यार्थीहरूलाई उद्यमी बन्न सिकाइने छ । हाम्रा विद्यार्थीहरू पढ्दा पढ्दै उद्यमी बनेर आम्दानी गर्न सकुन् भन्ने हाम्रो उद्देश्य रहेको छ ।
तपाईहरुको शिक्षालय लुम्बिनी प्रदेशको नमूना शिक्षालयको रुपमा घोषणा गरिएको छ । यो नमूना शिक्षालय भनेको के रहेछ ?
शिक्षालयलाई नमुना घोषणा गर्नका लागि दुई ओटा प्रकृया हुन्छन् । पहिलो प्रकृया भनेको कुनै पनि शिक्षालयमा भइरहेका काम, गतिविधि, प्रगति, भौतिक पूर्वाधारको अवस्था, शैक्षिक गुणस्तर, जनशक्तिको व्यवस्थापन लगायतका मापदण्ड पूरा गरेका उत्कृष्ट शिक्षालयलाई नमूना घोषणा गरिन्छ । अर्को प्रकृया भनेको कुनै पनि नयाँ शिक्षालयलाई नमूना घोषणा गरेर त्यस अनुसारको पूर्वाधार, शैक्षिक गुणस्तर, जनशक्ति व्यवस्थापन गर्न बृहत् गुरुयोजना बनाइन्छ र त्यस अनुरुप काम गरिन्छ । हाम्रो शिक्षालय नयाँ हो । अहिले सरकारले घोषणा गरेको नमूना शिक्षालय अनुसार विभिन्न काम भइरहेको छ । पूर्वाधार निर्माणको काम भइरहेको छ । जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । शैक्षिक गुणस्तर विकासका लागि कामहरु भइरहेका छन् । अबको पाँच वर्ष भित्र हाम्रो शिक्षालय सरकारी घोषणा अनुरुपम साच्चिकै नमूना शिक्षालय हुने छ भन्ने हामीले विश्वास लिएका छौं ।
अहिले कुन क्षेत्रक विद्यार्थीहरुले यहाँ अध्ययन गरिरहेका छन् ?
हाम्रो शिक्षलयमा अहिले लुम्बिनी प्रदेशबाँहेक कर्णाल, प्रदेश नं ७, प्रदेश नं २, गण्डकी प्रदेश र बागमति प्रदेशका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् । सस्तो शुल्कमा पढाई हुने भएकाले टाढा टाढाका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेको छन् ।
तपाई लामो समय प्राविधिक शिक्षालयहरुमा काम गर्नुभयो । नेपालमा प्राविधिक शिक्षाको महत्व कत्तिको देख्नुहुन्छ ?
प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो । अब हामीले डिग्री शिक्षा हासिल गरेर मात्र हुँदैन । मुख्य कुरा सीप हो । प्राविधिक शिक्षाले विद्यार्थीहरुलाई अनिवार्यरुपमा सीप सिकाउँछ । सीप सिकेपछि रोजगार र स्वरोजगकारका अवसरहरु मिल्छन् । यसले हाम्रा सन्ततिहरुलाई आत्मनिर्भर बनाउँछ । अब हाम्रा विद्यार्थीहरूले ज्ञान मात्र जानेर पुग्दैन । ज्ञानका साथै सीप जीवनका लागि निकै महत्वपूर्ण कुरा हो । हामीले हाम्रा विद्यार्थीहरुलाई मुलुकको आवश्यकताका आधारमा प्राविधिक शिक्षा दिनुपर्छ । नेपालमा लामोसमयसम्म परम्परागत ढंगले विद्यार्थीहरुलाई अध्यापन गर्ने काम भयो । पछिल्लो समय देशैभरी प्राविधिक शिक्षालयहरु खुलिरहेका छन् । सबै स्थानीय तहहरुमा प्राविधिक शिक्षालयहरु खोल्ने सरकारको योजना हो । प्राविधिक शिक्षा अहिलेको अनिवार्य सर्त बनिसकेको छ । पछिल्लो समय विद्यार्थीहरुमा प्राविधिक शिक्षाप्रति ह्वात्तै आकर्षण बढेको छ । मुलुकको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन अहिलेको प्रमुख आवश्यकता हो ।
प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरुले कत्तिको रोजगारी पाएका छन् ?
हाम्रो शिक्षालय नयाँ भएकाले यहाँबाट विद्यार्थीहरुले अध्ययन गरेर रोजगारी पाएका त छैनन् । किनकी अहिलेसम्म पनि यहाँबाट उत्र्तिण गरेर विद्यार्थीहरु गइसकेको अवस्था छैन । तर, म यो भन्दा पहिले चितवन र नेपालगञ्जमा रहेर लामोसमयसम्म काम गरे । त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुले राम्रो रोजगारी पाएका छन् । केही विद्यार्थीहरु स्वरोजगारमा लागेका छन् । प्राविधिक शिक्षा भनेकै रोजगारीमुलक शिक्षा हो । हामी यहाँ शहीद कृषण सेन इच्छुक बहुप्राविधिक शिक्षालयमा पनि शुरु देखि नै चनाखो भएर काम गरिरहेका छन् । यहाँ उत्पादन भएका हाम्रा सबै विद्यार्थीहरु रोजगार तथा स्वरोजगारमा लागुन भन्ने हाम्रो चाहना रहेको छ । हाम्रा उत्पादन भएका विद्यार्थीहरु रोजगारीको बजारमा राम्रोसँग बिक्न सक्छन् भन्नेमा पूर्ण विश्वास रहेको छ ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ छोरीहरुको आकर्षण बढेको देखिन्छ । यसको खास कारण के हो ?
प्राविधिक शिक्षालयहरुमा मात्रै होइन अन्य शिक्षालयहरुमा पनि छोरीहरुको संख्या बढि नै छ । किनकी हाम्रो देशको कुल जनसंख्यामा आधा छोरीहरु नै छन् । विगतमा छोरीहरुलाई पढाउने चलन थिएन । छोरा मान्छेहरु मात्रै अध्ययन गर्न विद्यालय जाने गर्दथे । तर, अहिले हाम्रो समाजको चेतनाकोस्तर निकै माथी उठेको छ । छोरीलाई पनि छोरा सरह अधिकार दिइएको छ । त्यही कारणले हरेक क्षेत्रमा छोरा सरह छोरीहरुको पनि सहभागिता देखिएको हो ।
अहिले शिक्षालयमा भर्ना खुलेको छ । भर्ना प्रक्रियाको वारे कस्तो छ ?
अहिले हाम्रो शिक्षालयमा डिप्लोमा तहमा भर्ना खुलेको छ । डिप्लोमा तहमा अध्ययनका लागि सर्वप्रथम त एसईई, एसएलसी वा विदेशमा अध्ययन गरेको रहेछ भने सो सरहको इक्वुभ्यालेन्ट गरेको हुनुपर्छ । हामीसँग अहिले ८ ओटा कार्यक्रमहरू रहेका छन् । ती विषयहरुमा फरक फरक ग्रेड र जिपिए चाहिन्छ । यी विषय अध्ययनका लागि अंग्रेजी, विज्ञान र गणित गरेर तीन ओटा विषय अनिवार्य पढेको हुनुपर्छ । विषय अनुसार ग्रेड र जिपिए फरक हुन्छ । हामीले बेवसाइडमा भर्ना सूचना निकालेका छौं । विद्यार्थीहरूले आँफूलाई मन पर्ने विषयमा आफ्नो ग्रेड र जिपिए पुग्ने अनुसार अप्लाई गर्न सक्नुहुने छ । सिटिइभिटिमा कोटा सिस्टम अनुसार भर्ना गरिन्छ । खुल्ला प्रतिस्पर्धा कोटा र लक्षित वर्ग पूर्ण शुल्कीय कोटा रहेको छ । लक्षित वर्ग कोटामा भर्ना हुनका लागि कुनै लक्षित वर्ग महिला, दलित, जनजाति, आदिवासी, शहीद परिवार, वेपत्ता पारिएका परिवार, जनआन्दोलन र मधेश आन्दोलनका घाइते, अपांगहरु, पूर्व कमैया, पूर्व हलैया वा विपन्न हुनुपर्छ । त्यसका लागि सम्बन्धित निकायले प्रमाणित गरेको कागज पेश गर्नुपर्छ ।
लक्षित वर्ग घोराही घोराही उपमहानगर भन्ने कोटा पनि रहेको छ । त्यसका लागि घोराही उपमहानगरपालिका भित्र बसोबास गर्ने र लक्षित वर्गको कुनै क्याटोगरीमा पर्नेले त्यसबाट फारम भर्न सक्नुहुने छ । त्यसैगरी सीटीइभीटीका कर्मचारी परिवार र सन्तानका लागि एउटा कोटा रहेको छ ।
विद्यार्थी भाइबहिनिहरुले कुन कोटाबाट आँफूलाई सहज मान्नुहुन्छ र आवश्यक कागजपत्र पेश गर्न सक्नुहुन्छ त्यसमा अप्लाइ गर्न सक्नुहुने छ । शिक्षालयको नजिकै हुनुभएका विद्यार्थी भाइबहिनिहरुले सुरक्षा मापदण्ड बनाएर शिक्षालयमा गएर फारम भर्न सक्नुहुने छ । त्यसैगरी टाढा रहनुभएका विद्यार्थी भाइबहिनिहरुले अनलाइन मार्फत पनि भर्ना गर्न सक्नुहुने छ ।
अन्त्यमा केहि भन्नु थियो कि ?
शिक्षालयको भर्ना अभियान चलिरहेको बेला हामीलाई आफ्नो कुरा आम बिद्यार्थी र अभिभावकहरु समक्ष राख्न दिएकोमा तपाइँ र तपाइको मिडियालाई धन्यवाद । अनि आम अभिभावक र विद्यार्थी भाइबहिनीहरु हाम्रो शिक्षालयमा पढाइ हुने बिषय अन्यत्र गएर पढ्नुभयो भने निकै महँगो शुल्क लाग्ने गर्छ त्यसैले सर्वप्रथम त हाम्रो शिक्षालयमा आउनुहोस सबै कुरा बुझेर मात्र आवेदन फारम भर्नुहोस् । तपाईहरुलाई नै सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिन हामी यहाँ बसेका छौं । अनि तपाई जस्तै तमाम मिडिया र मिडियाकर्मी ज्युहरुलाई यो बिषयमा प्रचार गरिदिनुहुन अनुरोध छ ।