रोल्पा, ३१ भदौ । विहीवार रातिबाट वेपत्ता भएका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अझै सम्पर्कमा आएका छैनन् । उनको खोजीमा दाङबाट प्रहरीको विशेष टोली तथा रोल्पाको प्रहरी टोली र सशस्त्र प्रहरीसमेत खटिएको छ ।
तर अहिलेसम्म घर्ती अवस्था पत्ता लगाउन नसकिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र थापाले बताए । अपहरणमा परेको आशंका गरिएका गाउँपालिकाका अध्यक्ष घर्ती र अपहरण गरेको आशंका गरिएका व्यक्तिको मोवाइल ट्रयाक गरेर खोजी गरिरहेको उनले जानकारी दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले थवाङ गाउँपालिकाको गाउँपरिषद उद्घाटन गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थवाङ जाने कार्यक्रम बिथोल्न अध्यक्ष घर्तिलाई अपहरण गरेको दाबी गरेको छ । गाउँपालिकाका अध्यक्ष अपहरणमा परेपनि गाउँसभाको उद्घाटन गर्न प्रचण्ड लगायतका माओवादी नेता भने आज शनिबार रोल्पा पुग्ने रोल्पाका एसपी थापाले बताए ।
यसैबिच प्रहरीले विप्लप नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा सुवासलाई पक्राउ गरेको छ । रोल्पाको कुरेलीबाट शुक्रबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।