इन्द्रेणी संवाददाता
जेठ ३१ सल्यान । सल्यानको श्रीनगरमा रुकुम यातायात प्रालिको डिलक्स गाडीमा तोडफोड भएको छ । सल्यान रुकुम यातायात समितीका कर्मचारीले काठमाण्डौ बाट रुकुम तर्फ जाँदै गरेको ना ५ ख ७२४१ नम्बरको डिलक्स बसमा आज सोमबार विहान ५ः५० बजेतीरको समयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यात्रु राखने विषयलाइ लिएर सल्यान रुकुम यातायात समितीका सात आठ जना कर्मचारिको समूहले बसमा तोडफोड गरेका थिए । त्यस क्रममा ट्राफिक प्रहरीका हवल्दार विरेन्द्र बहादुर कडायत र ३ जना यात्रु पनि घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम कुमार खत्रीले जनाए ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तोडफोडबाट बसको अगाडीको सिसा तथा दाँयाबाँयाका सिसा पनि फुटेका छन् । तोडफोडमा संलग्न ६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस विषयमा छलफल गर्न अहिले जिल्ला प्रशाशन कार्यालयमा छलफल भइरहेको छ । घटना कसरि भयो र समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेलको अध्यक्षतामा छलफल चलिरहेको डिएसपि खत्रीले जनाए ।