इन्द्रेणी संवाददाता
दाङ, ३१ जेठ ।
गाँउमा अत्याधिक मात्रामा मदिरा बेचबिखन र जुवातास खेल्ने क्रम बढ्न लागेपछि सौडियारका महिलाहरुले त्यसको नियन्त्रणका लागी चेतनामुलक तथा दवावमुलक कार्यक्रम सुरु गरेका छन । जथाभावी रुपमा मदिरा बेचबिखन हुदा वडामा लैंगिक तथा घरेलु हिँसाका घटना बढेपछि महिलाहरु संगठित भएर अभियान थालेका हुन । madira

करिव चार बर्ष अघि खुल्ला मदिरा बेचबिखन मुक्त घोषणा गरिएको सौडियार १ मा पुनः मदिरा बेचबिखन र जथाभावी सेवन बढेपछि स्थानिय वडा नागरिक मञ्च तथा आमा समुहमा आवद्ध महिलाहरुले त्यसको नियन्त्रणका लागी सवै पसल र घरघरमा पुगेर मदिरा नबेच्न र सेवन नगर्न दवाव दिएका हुन ।

वडा नागरिक मञ्चका कार्यसमिति सदस्य कुन्ता सिजवलको नेतृत्वमा रहेको ८५ जनाको महिलाहरुको एक समुहले आज सौडियार १ को अघरा,चैनपुर र जजरागाँउको एक दर्जन भट्टी पसल र करिव तीन सय घरधुरीमा अनगमन गरी मदिरा तथा जुवातास बिरुद्ध सचेतना दिएको छ ।

टोलीमा आमा समुहका अध्यक्ष जवुना महरा,प्रेमदेवी डागी,मेलमिलापकर्ता गोमा पाण्डे लगायतको सहभागिता रहेको थियो । यस्तै सौडियार गा.वि.स.को वडा नम्वर ३ लखवार सरैया टोलमा पनि जुवातास तथा मदिरा सेवन गर्ने क्रम बढेपछि स्थानिय महिलाहरुले त्यसको रोकथाम गर्न गा.वि.स.लाई आग्रह गरेका छन । स्थानिय महिला को नेतृत्वमा गा.वि.स.कार्यालयमा आएका उनिहरुले सरैया टोलमा बढेको मदिरा बेचबिखन,सेवन तथा जुवातास खेल्ने क्रम तत्काल बन्द गरिदिन आग्रह गरेका हुन ।

आफुहरुले पटक पटक सार्वजनिक स्थानमा जुवातास नखेल्न र जथाभावी मदिरा सेवन नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि गा.वि.स.मा डेलिकेशनमा गएको उनिहरुले बताएका छन । खुल्ला मदिरा बेचबिखन र जुवातासले गा.वि.स.ले थालेको बालमैत्री स्थानिय साशन र लैंगिक हिँसा न्यूनीकरण अभियानमा असर पुग्ने भएकाले त्यसलाई रोक्न गा.वि.स.ले पनि पहल गरिरहेको सौडियार गा.वि.स.का सचिव टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिगत बर्षदेखी चलिरहेको खुल्ला मदिरा बेचबिखन नियन्त्रण अभियान अझ कडाईका साथ सञ्चालन गरिने छ । हाल गा.वि.स.ले मदिरा बेचबिखनका लागी चाहिने लाईसेन्सको सिफारिस नगर्ने र मदिरा व्यापारीलाई प्रोत्साहन पुग्ने खालको कार्यक्रम नगर्ने गरिएको सचिव खड्काले बताउनुभयो ।।