काठमाडौं, ९ भदौ। नेपाल र भारतबीच आठवटा सम्झौतामा हस्ताक्षर गरेका छन् । हिजो नयाँ दिल्लीमा दुई देशबीच आपसी सहयोग र विकास निर्माणका विषयसम्बन्धी आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

deuba modiप्रधानमन्त्री शेरबहादुर देउवा र भारती प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका सम्बन्धित उच्च अधिकारीहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तापश्चात् भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित चार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

त्यस्तै मेची पुल निर्माण, लागूऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रण, गुणस्तर मूल्यांकन र लेखापरीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिहीबार दुई देशबीच भएको समझदारीपत्रअनुसार भूकम्पबाट भत्केका ५० हजार घर पुनर्निर्माणमा भारत सरकारले सहयोग पु¥याउनेछ । त्यस्तै सांस्कृतिक सम्पदाको पुनर्निर्माणसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

भूकम्पले भत्काएका स्वास्थ्य क्षेत्रका भौतिक संरचना पुनर्निर्माणसम्बन्धी समझदारीपत्र र शिक्षा क्षेत्रका संरचना पुनर्निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतको बाह्य मामिला मन्त्रालयका सचिव एस जयशंकरले हस्ताक्षर गरेका हुन् ।