धनिराम शर्मा ( ऋतुविचार )
अविकास, अभाव, महामारी, गरिबी र दुघर्टनाको मात्र समाचार बन्ने जाजरकोट प्रकृति र संस्कृतिका अद्भूत सम्पदाले भरिपूर्ण छ, भेरी र कर्णाली जस्ता विशाल जलाधारले घेरिएको जाजरकोट पर्यटकीय मनोरम सुन्दरताले छताछुल्ल छ , ऐतिहासिक दरबारदेखि विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा(हाब्रे)को बासस्थान रहेको जाजरकोट पर्यटनका सबै आयामले समृद्ध छ,यद्यपी पर्यटनका बहुआयामले निकै अब्बल मानिएपनि राज्यको सही नीति र कार्यक्रम अभावमा जाजरकोटका सम्पदाहरु खेर गइरहेका स्थानीयको प्रतिकृया छ । जाजरकोटको संभावना भन्दा यहाँको अभावलाई मात्र केन्द्रित गरिने काम भएको कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए, धेरै संभावनाहरु पनि छन् जसले जाजरकोटको गरिबी र अभावलाई हल गर्न सक्छ भन्ने कसैले नसोचेको उनको दावी छ । मनोरम पाटन क्षेत्र, मौलिक संस्कृति, दुर्लभ वन्यजन्तु दुर्लभ पक्षीहरुको बासस्थान रहेको जाजरकोट प्रकृति र संस्कृतिले अत्यन्तै मनोरम भएको अध्यक्ष बस्नेतले बताए ।
जाजकोट समुद्री सतहबाट ६ सय १० मीटरदेखि ५ हजार ४ सय १२ मीटर उचाईमा अवस्थित छ,संघीय संरचना अनुसार ६ नम्बर प्रदेशमा पर्ने जाजरकोट पहाडी र केही हिमाली भागले बनेको छ, जनगणना २०६८ अनुसार १ लाख ७१ हजार तीन सय चार रहेको जाजरकोटमा विविध जातजातिको बसोबास छ, आर्यन र जनजातिको थलो रहेको जाजरकोट ठाकूरजी पाटन, कुसेमुसे पाटन जस्ता विशाल हिमाली पाटन रहेका छन्, संघीय संरचना अनुसार जाजरकोटमा ७ स्थानीय तह रहेका छन्, नलसिङगाड जस्तो बहुचर्चित जलाशयको जलविद्युत उत्पादनको प्रारम्भ गरिएको जाजरकोटमा ग्रामीण पर्यटनको आधार होमस्टे संचालन गर्न सकिने प्रवल संभावना छन्, होमस्टे संचालन गरि स्थानीय उत्पादनको प्रवद्र्धन बजारीकरण, संस्कृतिको संरक्षण सम्वद्र्धन प्रवद्र्धन गरि ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन सकिने जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमान खड्काले बताए,प्रकृति र संस्कृतिको संगम भएपनि राज्यले जाजरकोटलाई संभावना भन्दा समस्यामा देख्नाले नै जाजरकोटको पर्यटन विकास हुन नसकेको खड्काको दावी छ ।
दुर्लभ वन्यजन्तु रेडपाण्डा
जाजकोट दुर्लभ वन्य जन्तु रेडपाण्डा, चिरकालीज र सुनगिद्धको बासस्थल हो, विश्भर दुइ हजार ५ सय रहेको रेडपाण्डा र चिरकालीज सुनगिद्ध जाजरकोटको बारेकोट गाँउपालिका, कुशे गाँउपालिका र त्रिवेणी नलगाड नगरपालिकाका वन क्षेत्रमा पाइन्छन्, हाल विश्वमा करिब २ हजार पाँच सय रेडपाण्डा रहेको अनुमानित तथ्याँक छ, नेपालमा जाजरकोट लगायत देशका अन्य जिल्लाहरु रसुवा, इलाम ताप्लेजुङ, रोल्पाको जलजला पाटन क्षेत्रमा गरि करिब ५ सय रेडपाण्डा रहेको अनुमानित तथ्याँक छ ।
रेडपाण्डा एक सुन्दर प्राणी हो,लज्जालु स्वभावको भएको वन्यजन्तु रुखको हाँगामा सुत्ने गर्छ, रेडपान्डा स्तनधारी समुहअन्तर्गत पर्दछ,यसको प्रजाति एल्युरिडी परिवारमा पर्दछ,हाबे्रलाई ठाउ अनुसार रातो पान्डा, पुडे कुदो, ह्वा, भालु विरालो, हाब्रे निगाले पोन्यो , फायर फक्स आदिनामले चिनिन्छ, बैज्ञानिकहरुले भने एल्युरस फल्जेन्सका नामले चिन्ने गर्दछन्, हाब्रेको बासस्थानमा हुने सानो परिवर्तनले पनि यसको अस्तित्वलाई नै संकटमा पार्न सक्छ र पर्यावरणमा भएको सानो परिवर्तनले पनि तुरुन्तै पहिचान गर्न सकिन्छ,त्यसैले हाब्रेलाई हिमाली चौडापाते जंगलको सुचक प्रजातिको रुपमा लिईन्छ । रेडपाण्डा संकटापन्न प्रजातिको सूचीमा रहेकोले नेपाल सरकारले यसलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित प्राणीको सूचीमा सूचिकृत गरेको हो ।
रेडपाण्डा जस्तो दुर्लभ वन्यजन्तु, ऐतिहासिक दरबार, युद्धकालीन कम्युन, विशाल जलाधार क्षेत्र, कुसेमुसे चौकुने ठाकूरजी जस्ता विशाल पाटन क्षेत्र, दर्जनौ मनोरम गन्तव्यले जाजरकोट वैभव छ, विश्वको दुर्लभ रेडपाण्डाको बासस्थान रहेको जाजरकोट पर्या पर्यटनदेखि युद्धपर्यटनको प्रर्वद्धन गर्न सकिने प्रवल संभावना भएकोले जिम्मेवारहरुले ठोस नीति र कार्यक्रम निर्माण गरि प्रकृति र संस्कृतिको अनुपम गन्तव्य जाजरकोटलाई विकास गर्न अब ढीला गर्न हुदैन ।
विशेष किसिमको हावापानी र वासस्थानभएको २ हजार ४०० मीटर देखि ४ हजार मीटर उचाईसम्मका हिमाली क्षेत्ररका फिर, भोजपत्र, गुराँस, र बाक्लो निगाँलो भएको जंगलमा पाईन्छ, पूर्वी तथा मध्य नेपालका हिमाली र उच्च पहाडी जिल्लाहरुमा पाईन्छ, जाजरकोटको सन्दर्भमा भने लोपोन्मुख प्राणी बारेकोट गाउँपालिकाको नायकवाडा, सक्ला, रामीडाडा, रोकायगाउँलगायतकाउच्च पहाडी जंगलमा पाईएको छ भने कुशे गाउँपालिकाको, पैंक, टालेगाउँ, अर्छानी लगायतका उच्च पहाडी जंगलमा भेटिएको जिल्ला वन कार्यालय जाजरकोटको अनुसन्धानबाट खुलेको छ । रेडपाण्डाको खानामा तीन भागमा दुई भाग निगालोको पाततथा टुसाहरु पर्दछ भने अन्य बोटहरु पनि यसले खाने गर्दछ । विश्वमा हाब्रे र ठुलो पान्डा गरी दुईप्रजातिको पान्डाहरु पाईन्छन् । ठुलो पान्डा सेतो र कालो रगंको हुन्छ भने हाब्रे रातो रंगको हुून्छ, रेडपाण्डा नेपाल, भारत, चीन, बर्मा र भुटानमा पाईन्छ भने ठुलो पाण्डा चीनको केही प्रान्तमा मात्रै पाईन्छ ।
मनोरम पाटन तथा जलाधार क्षेत्र
जाजरकोट दुर्लभ वन्य जन्तुले मात्र समृद्ध होइन मनोरम पाटन क्षेत्रले पनि अब्बल मानिन्छ,कर्णाल भेरी नलसिंहगाड जस्ता जलाशयले जाजरकोट समृद्ध छ, नलसिंगाड जस्तो ४ सय १० मेगावाट क्षमताको जलाशयुक्त जलविद्युत आयोजना निकै महत्वको छ, पर्या पर्यटन साहासिक पर्यटन जल पर्यटन सांस्कृतिक पर्यटन कृषि पर्यटनको संभावनाले अब्बल मानिने जाजरकोमा पर्यटकलाई पुराउन सके ग्रामीण जीवनशैली, कृषि प्रणाली, मनोरम डाँडाकाँडा वन क्षेत्र, ताल तलैया, नदी र झरनाहरुको मजाले अवलोकन गराउन सकिन्छ ।
कुसेमुसे चौकुने, ठाकूरजी जस्ता पाटन क्षेत्र निकै दुर्लभ मानिन्छन् पर्या तथा साहसिक पर्यटनको संभावना भएका यी पाटन क्षेत्र देशकै अब्बल पदमार्ग बन्ने संभावना छ, करिब ३ हजार मिटरदेखि ४ हजारको उचाइमा रहेको पाटन क्षेत्रमा पदमार्गको प्रवद्र्धन गर्न सकिन्छ, कान्जिरवा हिमश्रृखलामा पर्ने कुसेमुसे भर्जिन गन्तव्यका नामले चिनिन्छ, प्रकृतिका अनुपम सुन्दरता, जैविक विविधता मौलिक सस्कृति इत्यादीले धनी भएकोले नेपालको अब्बल गन्तव्य बनाउन सकिने त्रिवेणी नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए, सरकारले कुसेमुसे चौकुने ठाकूरजी लगायतको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउने प्रयास गरेको छ, अब यसलाई स्थानीय सरकारले पनि प्रवद्र्धन गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने रावलले प्रतिक्रृया दिए ।
ऐतिहासिक दरबारदेखि युुद्धकालीन कम्युन गन्तव्य
तत्कालीन चौबिसे राज्यहरु भएको जाजरकोटमा ऐतिहासिक सम्पदाहरु पनि छन, चौबिसे राज्यको जक्तिपुर निकै शक्तिशाली मानिएको पुराना बुढापाकाहरु बताँउछन्, जक्तिपुर राज्यको जाजरकोट दरबार अहिले पनि जाजरकोट खलंगामा छ, करिब ३ सय वर्ष पहिले बनेको जाजरकोट दरबार सात तलेको भएपनि विसं १९९० को भुकम्पले भत्किएपछि हाल तीन तला छ, पृथ्वी नारायण शाहको नेपाल एकिकरणको बेला निकै शक्तिशाली मानिने जक्तिपुरका राजा हरि शाहसंग मितेरी साइनो लगाएर कब्जा गरेको बताइन्छ,जक्तिपुरका अन्तिम राजा हरि शाह थिए, हालको दरबारमा ऐतिहासिक पुरातात्विक सम्पदाहरु हराइसकेका छन्, राज्यले दरबारमा रहेका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न नसक्दा सम्पदाहरु हराउदै गएको पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष जनक केसीले बताए ।
यसै गरि जाजरकोट माओवादी विद्रोहको सन्दर्भमा जनकम्युन संचालन भएका थिए, हाल जुनीचाँदी गाँउपालिका जुनीमा रहेको जुनी कम्युन अहिले पनि अस्तित्वमा छ, तत्कालनी द्वन्द्वका बेला सशस्त्र प्रहरीले सामुहिक हत्या गरेपछि स्थानीयहरुले कम्युनको विकास गरेका थिए, विसं २०५६ सालमा स्थापना भएको कम्युनमा २२ घरका सदस्य परिवारहरु एकै घरमा बस्दै आएका छन्,माओवादी द्वन्द्वको बेला स्थापना भएका कम्युनहरु सबै विघटनको संघारमा पुगेको बेला जुनी कम्युन अझै क्रियाशिल छ । जुनी कम्युन युद्ध पर्यटनको राम्रो गन्तव्य बन्न सक्ने स्थानीय अगुवाहरु बताँउछन् जिल्लाको पश्चिम उत्तरमा पर्ने जुनीचाँदी गाँउपालिकामा रहेको कम्युन क्षेत्र मगर संस्कृतिले पनि निकै समृद्ध भएकोले घरबास कार्यक्रम संचालन गरि ग्रामिण पर्यटनको विकास गरिने जुनीचाँदे गाँउपालिका अध्यक्ष कृष्ण खत्रीले बताए ।
पर्यटन विकासमा सरकारी प्रयास
प्रकृति र संस्कृतिको अनुपम गन्तव्य जाजरकोट प्रकृतिका सुन्दर छटादेखि दुर्लभ रेडपाण्डा विशाल पाटन क्षेत्रहरु रहेका छन्, ठोस सरकारी नीति र पहलकदमीको अभावमा ओझेलमा परेका छन्, जाजरकोटमा पाइने संकट्टापूर्ण रेडपाण्डा भेटिएको स्थानीयले सम्वद्ध निकायलाई जानकारी दिएपछि आर्थिक वर्ष २०६९÷७० मा जाजरकोटमा रेडपाण्डाको अध्ययन गरिएको थियो, अध्ययनको प्रतिवेदनपछि गत वर्षदेखि जाजरकोटमा रहेको रेडपाण्डा पनि सुचिकृत भएको हो । दुर्लभ वन्य जन्तु पाटन क्षेत्र ऐतिहासिक दरबार क्षेत्र सबैको प्रवद्र्धन गर्न भन्दै तत्कालीन केपी वली सरकारले नीति तथा कार्यक्रममा कुसेमुसे चौकुने र ठाकूरजीको पाटन क्षेत्रलाई प्रवद्र्धन गर्न प्रयास गरेको पाइन्छ ,यद्यपी सरकारी नीति र कार्यक्रम भने खासै प्रभावकारी हुन नसकेको स्थानीयले बताएका छन् सरकारले पनि नीति ल्यायो, साविकको जिल्ला विकास समितिले पनि वृहत पर्यटन विकासको गुरुयोजना अगाडि ल्याएपनि कार्यान्वयनमा जान नसक्दा पर्यटकीय सम्पदाहरुको प्रवद्र्धन हुन नसकेको नेपाल पर्यटन पत्रकार संघ जाजरकोटका अध्यक्ष सुरेन्द्र सिहँले बताए, स्थानीय तहका सरकारहरुले यसको महत्वलाई गम्भीरताकासाथ लागु गर्न सके जाजरकोट प्रकृति र संस्कृतिको अनुपम पर्यटकीय गन्तव्य बन्न सक्ने सिँहले दावी गरे ।
पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको वहस
रेडपाण्डा चीर कालिज, सुनगिद्ध जस्ता दुर्लभ वन्यजन्तु तथा पंक्षीको संरक्षण, कुसेमुसे चौकुने ठाकूरीजीलाई जोडेर पदमार्गको निर्माण होमस्टेको प्रवद्र्धन जस्ता कार्यक्रमहरु प्रभावकारी बनाउन सके जाजरकोट उत्कृष्ट गन्तव्य हुन सक्ने यही श्रावण २० गते नेपाल पर्यटन पत्रकार संघ जाजरकोटको आयोजनामा भएको स्थानीय सरकारको पर्यटन नीति र कार्यक्रममा स्थानीय तह प्रमुखहरुले जोड दिए, स्थानीय सरकारले पर्यटनको सन्दर्भमा निकै गम्भीर भएको बताउदैे समृद्ध जाजरकोट बनाउने भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीले बताईन् ।
समुद्री सतहबाट ६ सय १० मीटर देखि कान्जिरवा हिमश्रृखलामा पर्ने ५ हजार ४ सय १२ मीटर अग्लो रहेको कुसेमुसे हिमाली क्षेत्र निकै मनोरम छ, भर्जिन ल्याण्डको रुपले चिनिने, मनोरम प्राकृतिक गन्तव्य, सांस्कृतिक विविधताले भरिपूर्ण जाजरकोटमा घरबास कार्यक्रमको अत्यन्तै संभावना छ, ग्रामीण पर्यटनको आधारको रुपमा रहेको होमस्टे कार्यक्रम संचालन गर्न सके आन्तरिक तथा बाह्रय पर्यटकलाई जाजरकोटका रमणीय ग्रामीण क्षेत्रमा पुराउन सकिने त्रिवेणी नलगाड नगरप्रमुख टेकबहादुर रावलले बताए । जिल्लाका स्थानीय सरकारहरुको समन्वय र सहर्काबाट जिल्लाको पर्यटन विकासमा अगाडि बढ्ने रावले प्रतिवद्धता जनाए ।