काठमाडौँ  ३१ साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उद्धार र राहत वितरणमा सम्पुर्ण शक्ति, श्रोत र सादन परिचालन गरिएको जानकारी गराउनु भएको छ ।उहाँले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै सो कुरा जानकारी गराउनु भएको हो । उहाँले विभिन्न जिल्लाहरुमा बाढी, पहिरो र डुबानका कारणले मृत्यु हुनेहरुको संख्या १११ पुगेको जानकारी गराउनु भएको छ ।

उहाँले प्रभावित जिल्लाहरुका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौ जनता विस्थापित, दशौं हजार घरहरु डुबानमा परेको बताउनु भयो । उहाँले बाढीबाट मृत्यु भएका परिवारलाई प्रत्येक व्यक्तिरु दुई लाख र घर मर्मत गर्न दश हजार वितरण समेत सुरु भएको जानकारी दिँदै क्षतीको विस्तृत विवरण संकलन भई रहेको बताउनु भयो ।

“सरकारले उद्धार र राहत सामाग्री वितरणमा सम्पुर्ण शक्ति, श्रोत र सादन परिचालन गरेको छ” उहाँले भन्नु भयो “बाढी पीडित परिवारमा रोगको संक्रमण नफैलियोस भनेर जनसंख्याका आधारमा चिकित्सक परिचालन गरिएको छ ।”

उहाँले जनकपुर बेज बनाएर ३ वटा हेलिकोप्टर, नेपलगञ्ज बेज बनाएर एउटा परिचालन गरिएको भन्दै आज र भोली भित्र राहत वितरण गरीने जानकारी दिनु भयो ।
उहाँले अबोध बालकलाई कोशीमा बगाउनु पर्ने ह्रदय विदारक अवस्था आएको कुरा उल्लेख गर्दै, प्रभावित क्षेत्रका सांसदहरुलाई आफ्नो क्षेत्रका सुचना र समस्या केन्दित गरेर राहतको विवरणमा सहकार्य गर्न आग्रह गर्नु भयो ।

“जल मग्न भएर भयावह स्थिती पैदा भएको छ,” उहाँले थप्नु भयो “स्थानिय स्तरमा सुरक्षा निकाय र स्वास्थ्य चौकी पनि डुबानमा परेका छन । बाढी सुरु भए देखिनै ब्यारेकबाट सेना, प्रहरी र शसस्त्र प्रहरीले हजारौंलाई उद्धार गरी सकेको अवस्था छ ।”

विभिन्न बाढी तथा डुबान प्रभावित क्षेत्रको क्षती मुल्यांकनका लागि प्रारम्भिक लेखाजोखा गरी १० दिन भित्र विवरण पठाउन मन्त्रालयबाट विपद प्रभावित सवैं जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार समेत गरिएको जानकारी गराईएको छ ।

संसद बैठकमा आफ्नो पालो सक्काएर गृहमन्त्री शर्मा प्रभावित क्षेत्रका बाढी, पहिरो तथा डुबान क्षेत्रका जनतालाई राहत सामाग्री ढुवानीका लागि हेलिकप्टर मार्फत पठाउने स्थान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा निरीक्षणमा पुनः खटनु भयो ।

गृहमन्त्री शर्मासँग गृह सचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सह सचिव राम कृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सह सचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधी, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधी लगायतको उपस्थिती छ ।

आईतबार र सोमबार उहाँ पश्चिम, मध्य तथा पुर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटेर तथा हवाई स्थलगत अवलोकन गरेर फर्किनु भएको हो ।