दाङ । कवि सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरुको कारखाना’को परिचर्चा कार्यक्रम गरिने भएको छ । दाङबाट सञ्चालित शब्दशिखा साहित्यिक अनलाइनको आयोजनामा कवि तिवारीको कविता संग्रहको परिचर्चा गर्न लागिएको हो ।
कार्यक्रममा कवि तिवारीको पुस्तकमाथि कवि यज्ञबहादुर डाँगी, कवि अभय श्रेष्ठ र कवि ज्वालामुखी लामिछानेले समीक्षा गर्ने शब्दशिखा साहित्यिक अनलाइनका सम्पादक डिल्ली मल्लले जानकारी दिए । सम्पादक मल्लले शनिबार दिउँसो २ बजेदेखि घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा शुरु हुने कार्यक्रममा उपस्थितिका लागि साहित्यकार, पत्रकार तथा शुभेच्छुक सबैलाई आग्रह समेत गरेका छन् ।
प्रगतिशील लेखक संघ नेपालकी केन्द्रीय सचिव समेत रहेकी तिवारीका प्रश्नहरुको कारखानासँगै बुद्ध र लाभाहरु– २०५७ र अस्तित्वको घोषणापत्र २०६७ कविता संग्रह प्रकाशित छन् ।
