इन्द्रेणी संवाददाता
सुर्खेत, २८ जेठ
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधान कार्यान्वय र मधेस समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । राजनीतिक  सहमतिबाट मधेसी, आदिबासी, जनजाति र थारुको माग संविधान संसोधन गरी समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।prachand-1o

प्रेस सेन्टर सुर्खेतले आज बिरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जसको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ उसैको नेतृत्व स्विकार्न प्रमुख दल सहमत हुनुपर्ने बताउनुभयो । आफ्नो पार्टी अहिले एउटा सरकार गिराउने र अर्को बनाउने तिर नभएर राष्ट्रिय समझदारी बनाउने तर्फ लागेको प्रचण्डको भनाइ छ ।

प्रादेशीक निर्बाचन र संघीय चुनाब भएर नया प्रतिनिधिसभा नआउँदासम्म प्रमुख शक्तिहरु एक ठाउमा बस्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मधेसवादी दलले उठाएको संविधान पुनर्लेखन सम्भव नभए पनि राष्ट्रिय सहमति भए मधेसको समस्या सहज हुने टिप्पणीगर्दै प्रचण्डले मधेसवादी दलसँग सहमति हुने सम्भावना बढेको दावी गर्नुभयो ।।