काठमाडौं, १५ साउन । विश्वस्तरमा कम्युनिस्ट आन्दोलनको रक्षात्मक स्थितिका सन्दर्भमा नेपाली क्रान्तिले शान्तिप्रक्रिया र प्रतिस्पर्धात्मक राजनीतिको निकै पेचिलो र जोखिमपूर्ण रणनीति अवलम्बन गर्न परिरहेको वर्तमान समयमा पार्टीले विचार, राजनीति, रणनीति र कार्यनीतिक आचरणका समष्टिगत पक्षमा नयाँ विकास र स्पष्टता हासिल गर्नुपर्ने कुरालाई उच्च प्राथमिकतामा राखेको छ ।

IMG_3119-1-848x478वैचारिक र राजनीतिक कार्यदिशाको समग्र विकास र संश्लेषणको ऐतिहासिक र चुनौतीपूर्ण जिम्मेवारी स्वीकार गरेर अघि बढिरहेको हाम्रो पार्टीका अगाडि वर्ग संघर्ष र कम्युनिस्ट आन्दोलनको उक्त जटिल र संवेदनशील संक्रमणकालमा एकातिर सम्पूर्ण रूपले बुर्जुवा संसद्वादको दलदलमा फसेर वैचारिक रूपले अवसान हुने र अर्कोतिर यान्त्रिकता र जडताको सिकार बनेर जनसमुदायबाट अलगथलग परी प्रतिक्रियावादी आक्रमणद्वारा ध्वंस हुने दुवै खतरा रहेका छन् ।

वर्ग संघर्षको यो चक्करदार मोडमा पार्टीले आफ्नो सर्वहारा वर्गीय चरित्र र पहिचानलाई बचाउँदै शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको संसदीय संघर्षमार्फत उत्पीडित श्रमजीवी जनसमुदायसँगको सम्बन्धलाई जीवन्त राख्दै नयाँ चरणको नयाँ क्रान्तिका लागि अनुकूल परिस्थिति निर्माण गर्ने लामो र कष्टसाध्य बाटो हिँडेर विजयको शिखर चढ्ने संकल्प गर्नु आजको आवश्यकता हो ।

निर्वाचन समीक्षा
आज हामीले निर्वाचन समीक्षाको कुरा गर्दा उपरोक्त सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर मात्र समुचित निष्कर्ष निकाल्न सकिन्छ । यस दृष्टिले हेर्दा शान्तिसम्झौतादेखि आजसम्म वैचारिक, राजनीतिक कार्यदिशाका सन्दर्भमा भएका बहस, अस्पष्टता, उतारचढाव, फुट–विभाजन र एकताका असाधारण शृंखलाहरूको समुचित संश्लेषण र बुझाइमा स्पष्टता र एकरूपताको अभावका कारण सिर्जित अराजकता नै आजका परिणामहरूको प्रमुख कारण हो । तमाम सीमा र जटिलताका बाबजुद पार्टीले प्रतिक्रियावाद र अवसरवादविरुद्धको वैचारिक, राजनीतिक संघर्षलाई उच्च प्राथमिकतामा राखी प्रकाशन, प्रशिक्षण, प्रचार–प्रसार र स्कुलिङलाई व्यवस्थित पार्न जुन स्तरको तागत लगाउनुपर्ने थियो, त्यसमा कमी हुनु नै आजको परिणामको प्रमुख कारण हो । वैचारिक राजनीतिक रूपले अस्पष्ट र संगठनात्मक रूपले अस्तव्यस्त पार्टीले धेरै ठूलो नतिजाको अपेक्षा गर्नु नै मनोगत अपेक्षा हुन पुग्दछ । अतः यो सर्वाधिक महत्वको विषयमा प्राथमिकताका साथ कार्ययोजनाको विकास गर्नुको कुनै अर्को विकल्प हामीसँग छैन ।

प्रतिक्रियावादी शक्तिहरूका चुनौतीहरूको सामना
शान्तिप्रक्रिया र राजनीतिक सहमतिसहित संविधानसभाबाट संस्थागत गरिएका संघीय लोकतान्त्रिक गणतन्त्रसहितका राजनीतिक परिवर्तनहरू सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरूलाई पचिरहेको छैन । अतः यस प्रकारका शक्तिहरूले अझै पनि यो परिवर्तन उल्ट्याउने षड्यन्त्र गर्न छाडेका छैनन् । विश्वमा देखिएको अन्धराष्ट्रवादी र दक्षिणपन्थी हावाका पृष्ठभूमिमा यो परिवर्तन उल्ट्याउने षड्यन्त्रले मलजल पाइरहेको छ । परिवर्तनको प्रमुख वाहक शक्ति हुनुका नाताले प्रतिक्रियावादी शक्तिहरूका जुनसुकै चुनौतीको सामना गर्न तयार रहनु पार्टीको विशेष जिम्मेवारी रहेको र यसका निमित्त जनतालाई सचेत पार्न विशेष जोड लगाउन आवश्यक छ । वस्तुतः हाम्रो नेतृत्वको सरकारले अन्य कुराका अतिरिक्त स्थानीय तहको निर्माण र त्यसको निर्वाचनमा लिएको अडान र पहलका पछाडिको मुख्य उद्देश्य त्यो षड्यन्त्रलाई परास्त गर्ने नै हो । निर्वाचनको परिणामतिर भन्दा परिवर्तन संस्थागत गर्न निर्वाचनमा छिटोभन्दा छिटो देशलाई लैजानैपर्ने आवश्यकता बोधको चटारोले पनि हाम्रो निर्वाचन परिणाम केही हदसम्म प्रभावित रहेको छ । नयाँ पत्रिकाबाट