इन्द्रेणी संवाददाता
काठमाडौं १३ साउन । मधेश केन्द्रित विभिन्न नामका पार्टीहरु बीच एकता भएर भर्खर मात्र नयाँ पार्टी भएको राजपा नेपाल विभाजनको संघारमा पुगेको छ । आगामी साउन २१ गते बोलाईएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्तरबस्तु बारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ ।
पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाईएको हो । अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्धा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा रहेको जनाईएको छ ।,
