इन्द्रेणी संवाददाता
दाङ १३ साउ । शुक्रबार (आज) हिन्दू धर्मावलम्बीहरुले देशभर जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाउँदैछन् । जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ ।
आज बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ । यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै आज नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ । भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रही आएको छ ।
त्यस्तै भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र र जनै पूर्णिमा आज मिथिलाअञ्चल क्षेत्रमा पनि धूमधामका साथ मानिन्छ । जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । रक्षा बन्धनको अवसरमा दिदी बहिनहरुले आफ्ना दाजु भाइहरुलाई राखी बानी रक्षा बन्धन पर्व मनाइंदैछ । उता, पुर्बको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरीमा पनि भक्तजनको घुईचो लाग्ने गर्छ । म्याग्दीको नागी वाराही र शिखको खयरवाराही मन्दिरमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्छ ।