सुर्खेत,१० साउन । सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने निर्णय गरेको छ । मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ ।

गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिद गर्न १० लाख र वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न १२ लाख ५० हजार रकम छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले सहजताका लागि मोटरसाइकल खरिद गर्न लागिएको बताए ।

एम्बुलेन्स समेत नभएको गाउँपालिकामा वडाध्यक्षलाई मोटरसाइकल किन्ने निर्णय भएको भन्दै स्थानीयले भने बिरोध जनाएका छन् ।

स्थानीय किरण विसीले विरामी हुँदा समयमै उपचार नपाएर मृत्यु हुनुपर्ने बाध्यता रहेको गाउँपालिकामा एम्बुलेन्स खरिद नगरी मोटरसाइकल खरिदका लागि मात्रै २२ लाख ५० हजार रकम छुट्याइएको भन्दै यस्तो निर्णय सच्याउनु पर्ने माग गरेको बताए ।

तर, गाउँपालिका अध्यक्ष शाहीले भने एम्बुलेन्स नहुनुसँग मोटरसाइकल खरिदको सम्बन्ध नभएको तर्क गरे । ‘सार्वजनिक यातायातबाट काम गर्न सम्भव छैन,’ उनले भने, ‘कर्मचारीलाई एम्बुलेन्सले काम गर्दैन, त्यसैले मोटरसाइकल किन्न लागिएको हो ।’

१० वटा वडा मध्ये सवारी साधान नभएका वडाले मोटरसाइकल किन्ने उनले बताए । साथै गाउँपालिका कार्यालयका लागि पनि मोटरसाइकल खरिद गर्ने निर्णय भएको छ । अनलाइन खबरमा खबर छ ।

उसो त संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पटक-पटक केन्द्रबाट गएको बजेट सवारी साधन, जनप्रतिनिधिको सुविधामा खर्च नगर्न निर्देशन दिएको छ । तर, स्थानीय निकायहरुले त्यसलाई सिंहदरबारको हस्तक्षेप भन्दै विरोध गर्ने गरेको सुनिन्छ ।