काठमाडौं, ९ साउन । सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले फेरि अनशन बस्ने घोषणा गरेका छन् ।

आज सोमबारदेखि बस्ने भनिएको उनको यसपटकको अनशन ११ औं पटकको हुनेछ । आफूसँग विगतमा भएका सम्झौता सरकार र राजनीतिक दलले बारम्बार उल्लंघन गरेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसद्बाट एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै उनले फेरि अनशनको घोषणा गरेका हुन् । ‘मसँग भएका सम्झौता कार्यान्वयन भएनन् । त्यसैले आज साँझ ४ बजेदेखि सत्याग्रह सुरु गर्दै छु’, केसीले भने ।
