पोखरा, ५ साउन । लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन ।
विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई अहिले अनुसन्धानका लागि लगाइएका बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।
केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार अनुसन्धानका लागि लगाइने बालीको बीउ पनि खोस्रिएर खाइदिने भएपछि बीउ लगाउँदादेखि नभित्र्याउँदासम्म बाँदरबाट जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
केही समययता लुम्लेमा नयाँ प्रजातिको बाँदर देखिएको जानकारी दिँदै उहाँले धपाउँदा पनि अटेर गर्ने भएकाले बाली जोगाउन मुस्किल पर्ने गरेको बताए ।
लुम्ले आसपासका क्षेत्रमा ठूलो संख्यामा बाँदर रहेका छन् । उहाँले बाँदर हुल बाँधेर केन्द्रमा अनुसन्धानका लागि लगाइएका बालीमा पस्ने गरेको बताए। अनुसन्धान समेत प्रभावित पारेका यहाँका बाँदरले जिल्लाका सबैजसो ठाउँका कृषकलाई दुःख दिँदैआएका छन् ।
बाँदर आतंक हल गर्नुपर्ने सर्वसाधारणको माग बढेर गएपछि कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा यसको व्यवस्थापनका लागि रु १० लाख विनियोजन गरेको विषय यतिखेर सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।