दिपक बोहरा
तुलसीपुर ५ साउन । दाङको एक ठेकेदार कम्पनीले सरकारी कार्यालयको रसिद दुरुपयोग गरेको छ । दाङको ठेकेदार कम्पनी बुढाथोकी कन्ट्रक्सनले जिल्ला समन्वय समिति दाङ र सल्यानको भ्याट उल्लेख गरिएकोे रसिद दुरुपयोग गरेर जिल्ला निकासी बस्तुमा कर असुली गरिरहेको पाइएको छ ।
गएको आर्थिक बर्ष २०७३/०७४ मा उत्पादित बस्तुहरु निकासी गर्न जिल्ला समन्वय विकास समिति दाङ र सल्यानबाट ठेक्का पाएको कन्ट्रक्सनले नयाँ आर्थिक बर्ष २०७४/०७५ सुरु भएपनि गत आर्थिक बर्षकै रसिद प्रयोग गरेर अबैध रुपमा कर असुली गरिरहेका भन्दै यहाँका व्यवसायीहरुले विरोध जनाएका छन । राज्यलाई तिरेको राजश्व ब्यक्तिले लिन लागेको भन्दै ब्यवसायीले विरोध जनाएका हुन् ।
जिल्ला समन्यव समितिले उत्पादित बस्तुहरु निकासी गर्न बुढाथोकी कन्ट्रक्सनलाई यसवर्ष पनि ठेक्का दिने निर्णय गरेको छ । यद्यपी सम्झौता भने भएको छैन । कन्ट्रक्सनले साउन ३ गते दाङ र रुकुममा चामल, तेल, फलफुल, ईट्टा, १३ प्रतिशत भ्याटसहित ढुवानी खर्चका लागि गएको आर्थिक बर्षको रसिद काटेको पाइएको हो । गएको आर्थिक बर्षको रसिद प्रयोग गर्न नपाईने दाङका स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले बताए । उनले भने ‘नयाँ आर्थिक बर्ष सुरु भएपछि पुरानो आर्थिक बर्षको रसिद प्रयोग गर्न पाईदैन ।’
जिसीका अनुसार गत आर्थिक बर्षमा जिल्लामा उत्पादित बस्तुको निकासीका लागि ठेक्का पाएको बुढाथोेकी कन्ट्रक्सनलाई चालु आर्थिक बर्षमा पनि निकासी ठेक्का परेको छ । तर सम्झौता भने भएको छैन् । सम्झौता बिना निकासीको काम गर्न नपाईने उनले बताए । ‘सम्झौता बिना काम गर्न पाईदैन्, उनले भने ‘यदि त्यसो गरिएको पाईएमा कानुनी कारबाही हुन्छ ।’ तर बुढाथोकी कन्ट्रक्सनले चालु आर्थिक बर्षको साउन ३ गते नै पुराना धेरै रसिद काटि सकेको र कारोबारो सुरु गरेको पाईएको छ ।
बुढाथोकी कन्ट्रक्सनले जिल्ला समन्वय समिति दाङको आर्थिक बर्ष २०७३÷०७४ को रसिद नंं. १०७३३ मा ईट्टा ढुवानीका लागि भ्याटसहित गाडी नं. ३२७३ लाई ३ सय ३९ रुपैयाँ काटेको पाईएको छ ।
त्यस्तै दाङकै रसिद नं. १०७३९ मा गाडी नं. ९०९७ ईट्टा ढवानीका लागि एक सय ६९ रुपैयाँ, रसिद नं. १०७३६ मा गाडी नं. १३१४ लाई चामल र तेल ढुवानीका लागि भ्याट सहित २ हजार दुई सय ९९ रुपैयाँ काटेको पाईएको छ । त्यस्तै जिल्ला समन्वय समिति सल्यानको रसिद नं. ३६१८ मा गाडी नं. ३२९७ लाई ईट्टा ढुवानीका लागि भ्याट सहित तीन सय र रसिद नं. ३६१९ मा चामल र तेल ढुवानीका लागि भ्याटसहित २ सय रुपैयाँ काटेको पाईएको छ । माथिका सबै सामान रुकुम ढुवानीका लागि कर रसिद काटिएको छ । ती सबै रसिद गएको आर्थिक बर्ष २०७३÷०७४ का छन्, तर चालु आर्थिक बर्षको साउन ३ गते काटिएको छ ।
त्यस्तै जिल्ला समन्वय समिति सल्यानको आर्थिक बर्ष २०७३/०७४ को रसिद नं. ५४२८ मा फलफुल ढुवानीका लागि गाडी नं. ११३७ लाई फलफुल ढुवानीका लागि ५ सय ६५ रुपैयाँ लिएको पाईएको छ ।
सल्यानका स्थानीय विकास अधिकारी खिम बहादुर रायमाझीले पुरानो आर्थिक बर्षको रसिद प्रयोग गरेको भन्दै कानुनी प्रक्रिया चाल्ने बताए । बुढाथोकी कन्ट्रक्सनलाई एक हप्ता भित्र सम्झौता गर्न आग्रह गरेको पत्र पठाईसकेको बताए । उनले भने हामीले एक हप्ता भित्र सम्झौता गर्न आउन भनी पत्र पठाईसकेका थियौ ।’
बुढाथोकी कन्ट्रक्सनका सञ्चालक भिमबहादुर बुढाथोकीले कर्मचारीहरुले थाहा नपाएर पुरानो बिल काटेको बताए । उनले भने ‘कर्मचारीले थाहा नपाएर गल्ति गरेका हुनसक्छन् ।’ अब हामी सच्याउँछौ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)