रामेछाप, १ साउन । अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले बताए । त्यसैगरी अन्य छ जना घाइते रहेका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।
बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो । गएराति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी बढेको थियो ।
स्थानीयवासीका अनुसार खिम्तीबजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ । बजारमा पार्किङ गरेका सवारीसाधनमा पनि बाढीले क्षति पु¥याएको छ । खहरेपुल निर्माणाधीन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो ।
