काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मतभेद र असन्तुष्टि चुलिएपछि अध्यक्ष कमल थापाले त्यसको सम्पूर्ण दोष पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता दीपक बोहरामाथि थोपर्दै तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीभित्र बढेको द्वन्द्वबारे छलफल गर्न आएका केन्द्रीय सदस्य, सांसद र जिम्मेवार कार्यकर्तासँग थापाले बोहरालाई कारबाहीको चेतावनी दिएका हुन्। पार्टीका एक पदाधिकारीले भने, आफूपछि दोस्रो मर्यादामा रहनुभएका उपाध्यक्ष बोहरालार्ई पदबाट निकाल्नेसम्मको तयारीमा थापा हुनुहुन्छ ।
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप बोहरामाथि छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणालाई प्रयोग गरी पार्टी फुटाउने षड्यन्त्रको मियो नै बोहरा रहेको आरोप अध्यक्ष थापाले लगाएको जानकारी ती नेताले दिए ।
सांसदसमेत रहेका केन्द्रीय समिति सदस्य रेशमबहादुर लामाले पार्टीमा उत्पन्न परिस्थितिको जिम्मेवार अध्यक्ष थापा भएको बताउँदै केन्द्रीय समितिमा मनोनयन गरिएका ४२ जनाबारे पुनर्विचार गर्नुपर्ने बताए । अन्नपूर्णपोटमा भनिएको छ -४२ जनाको मनोनयनका कारण पार्टी फुट्ने अवस्थामा पुगेको छ । विधानको अधिकार प्रयोग गर्दा पार्टीका वरिष्ठ नेताको परामर्श अनिवार्य हुन्छ ।