इन्द्रेणी संवाददाता
दाङ, २९ असार । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेर हत्या भएका ठेकेदार रणबहादुर घर्तीका परिवारले हत्यारालाई जन्मकैद नहुँदासम्म र सरकारले आफूहरुलाई उचित क्षतिपुर्ति नदिदासम्म लाश नवुझने बताएका छन् ।
आज दाङको घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी हत्यारालाई हदैसम्मको कारवाही र रणबहादुरका दुई छोरालाई सरकारले शिक्षा, स्वास्थ्यलगायतको जिम्मेवारी नदिलासम्म लाश नवुझने बताएका हुन् ।
पत्रकार सम्मेलनमा रणबहादुर घर्तीका वुवा गनमान घर्तीले मृतकका छोरा र श्रीमतीलाई सरकारले हेर्नुपर्ने माग गरे । उनले छोरा रणबहादुरले व्यवसाय गर्दा घरबाट धेरै लगानी गरेको र त्यसको आफूहरुलाई अत्तोपत्तो नभएकाले त्यसको जानकारी समेत सरकारले दिलाइदिनुपर्ने बताए ।
रणबहादुरका दाजु गणबहादुर घर्तीले भाइ रणबहादुर अपहरणमा परेर हत्या हुदासमेत स्थानीय प्रहरी प्रशासनबाट खोजी गर्ने वातावरण नमिलाइदिएकोमा गुनासो गरे । व्यापारी श्रेष्ठको हत्या भएको थाहा भइसकेपछि पनि आफूहरुले सोधपुछ गर्दा भाइ रणबहादुर समेत अपरहणमा संलग्न भएको देखिएको प्रहरीले बताएको उनले पत्रकार सम्मेलनमा बताए ।
अपहरण भएको करीव १०, १५ किलोमिटरमा श्रेष्ठ र रणबहादुरको हत्या भएपनि अपहरण भएलगतै यसबारे प्रहरी प्रशासनले राम्रोसँग खोजतलास नगरेको दाजुले गुनासो गरे । व्यापारी श्रेष्ठसँँगै जेठ २६ गते राति अपहरणमा परेका रणबहादुरको शव हिजो मात्रैसल्यानको छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरामा फेला परेको थियो ।
घोराही १२ निवासी घर्तीका ९ वर्षिय निरज घर्ती, ७ वर्षिय सुशील घर्ती, श्रीमती निमा घर्ती, आमा हैकली घर्ती, बुवा गजमान घर्ती र दाजु गणबहादुर घर्ती छन् ।
यसैबीच हिन्दुजागरण नेपाल दाङले पनि सदस्य रणबहादुरका हत्यारालाई हदैसम्मको कारवाही र पीडितलाई उचित क्षतिपुर्ति उपलव्ध गराउन माग गरेको छ ।
