दैलेख, २९ असार। शिक्षा नियमावलीअनुसार ४५ जना विद्यार्थीलाई एकजना शिक्षकले पढाउनुपर्ने प्रावधान छ । तर, दैलेखको पश्चिम आठबिस नगरपालिका–६, स्थित हियाधारा प्राविमा एकजना शिक्षकले १ सय २२ जना विद्यार्थीलाई अध्यापन गरिरहेका छन् । सरकारी अनुदानको अभावमा स्थानीय स्रोतबाटै सञ्चालन गरिएको सो विद्यालय २०६७ मा स्थापना गरिएको थियो ।
कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयलाई स्थानीय अभिभावकले शिक्षक दरबन्दीका लागि पटक–पटक माग गरे पनि सुनुवाइ नभएको स्थानीय पत्रकार शेरबहादुर थापाले जानकारी दिए । ‘शिक्षक दरबन्दीको अभावमा विद्यार्थीको भविष्य अन्योल भइरहेको छ,’ उनले भने । जिल्लामा शिक्षासम्बन्धी काम गर्ने थुप्रै एनजीओ–आईएनजीओले काम गरे पनि कसैको चासो नगएको उनको भनाइ छ ।
१ सय २२ जना विद्यार्थी अध्यापन गराउने एक्ला शिक्षक केशबहादुर विक हुन् । विद्यालयमा नवराज शर्मा प्रधानाध्यापक र विक सहायक प्रधानाध्यापकको रूपमा अध्यापन गर्दै आएका थिए । अभियानले लेखेको छ -स्थानीय तहको निर्वाचनमा प्रअ नवराज शर्मा वडा अध्यक्ष पदमा चुनाव लड्ने भन्दै शिक्षक पदबाट राजीनामा दिएपछि अहिले विक एक्लैले विद्यालय सञ्चालन गर्दै आएका छन् ।
जिल्ला शिक्षा कार्यालयबाट आउने पीसीएफ रकम र स्थानीय सामुदायिक वनको रकमबाट आफूले तलबभत्ता पाउँदै आएको विकले बताए । ‘पीसीएफ हटेपछि तलब कहाँबाट खाने भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भने । उनका अनुसार शिक्षा कार्यालयले पीसीएफ रकम दिन बन्द गरेपछि तलब पाउनै मुश्किल हुन्छ ।
स्थानीय स्रोतबाट आफूले मासिक ८ हजार तलब पाउने विकले बताए । ‘पढाउन छोडूँ भने आफ्नै गाउँका कलिला नानीबाबुको भविष्य के होला भन्ने लाग्छ,’ उनले भने, ‘नछोडूँ भने आफ्नो भविष्य नै बिग्रेला भन्ने डर छ । गाउँका बासिन्दा पनि आजसम्म तिमीले नै पढाएका हौ, अब बीचमै किन छोड्छौ भन्छन्, साह्रै अप्ठ्यारो भइरहेको छ ।’
विकले विद्यालयबाट अध्यापन गराएबापत लिनुपर्ने २ लाख रुपैयाँ पाउन सकेका छैनन् । विद्यालयमा भौतिक संरचना राम्रो भए पनि दक्ष शिक्षकको व्यवस्थापन गर्न नसकिँदा विद्यार्थीको भविष्य नै अन्योलमा परेको स्थानीयवासी बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले अहिलेसम्म शिक्षा कार्यालयबाट राहतस्वरूप केही रकम मात्रै पाउने गरेको तर यो वर्षबाट त्यो पनि बन्द भएकाले विद्यालय चलाउन मुश्किल परेको प्रतिक्रिया दिए । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनीराम थापाले वनको वार्षिक १ लाख ५० हजारजति आम्दानीबाट विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई तलब भत्ता खुवाइँदै आएको बताए ।
