इन्द्रेणी संवाददाता
दाङ , २७ असार । दाङ तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठ सँगै अपहरण परेका घोराहीका ठेकेदार रणबहादुर घर्तीमगरको पनि हत्या भएको प्रहरीले जनाएको छ । गत जेठ २६ गते व्यापारी श्रेष्ठसँगै ठेकेदार रणबहादुर पनि अपहरणमा परेका थिए । ज्येष्ठ २९ गते व्यापारी श्रेष्ठको हत्या गर्नु करिब १ घण्टा अघि नै अपहरणकारीको समुहले ठेकेदार रणबहादुरको हत्या गरेको खुलासा भएको हो ।
प्रहरीले व्यापारी श्रेष्ठको अपहरण र त्यपछि भएको हत्याका योजनाकार पक्राउ गरेसंगै यो रहस्य खुल्न आएको हो । ‘ पक्राउ परेकाले दिएको बयान अनुसार रणबहादुरको पनि सोही दिन करिब सय , डेढ सय मिटरको दुरीमा हत्या गरेको देखिन्छ । ’ अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी ज्ञान विक्रम शाहले भने ‘ श्रेष्ठ र घर्तीलाई छुटाछुटै ग्रुपले हत्या गरेकाले घर्तीको अवस्था थाहा हुन सकेको थिएन । पक्राउ परेपछि मुख्य योजनाकारले घर्तीको पनी हत्या गरेको बयान दिएका छन । ’ घर्तीले अपहरणकारीलाई चिनेकै कारण उनको हत्या गरिएको प्रहरीले जनाएको छ । ‘ ज्येष्ठ २६ गते श्रेष्ठलाई अपहरण गर्ने क्रममा उनी भन्दा अगाडी पुगेका ठेकेदार घर्तीको गाडीलाई तोडफोड गर्दा घर्तीले अपहरणकारीलाइ चिनेको खुल्न आएको छ । ’ एसएसपी शाहले भने ‘ आफुहरुलाई चिनेकै कारण अपहरणकारीले घर्तीलाई पनि सुचना लिक हुने डरले अपहरण गरेको देखिएको छ । चिनकै कारण पछि उनको हत्या समेत गरियो । ’ बुधबार बिहानै प्रहरी परिचालन गरेर घर्तीको शव दाङ ल्याइने प्रहरीले जनाएको छ ।
यि हुन घटनाका मुख्य अभियुक्त
प्रहरीले अपहरण र हत्यामा १० जना बढीको संलग्नता भएको जनाएको छ । प्रहरीले मंगलबार हत्याका मुख्य अभियुक्त सल्यान झिम्पे कोरबाङ ५ घर भई हाल दाङको हेकुली ६ बालापूर बस्ने ३७ वर्षीय मान बहादुर भण्डारी , तुलसीपूर उपमहानगरपालिका ६ स्याउली बजारका ३९ वर्षीय टिकाराम घर्ती , उनकी १८ वर्षीय छोरी पुजा घर्ती (प्रहरीले यसअघि १७ वर्ष बताएको थियो लाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई दाङ बाट खटिएको प्रहरीको विशेष टोलीले बाँके डुरुवा गाँउपालिका ६ स्थित नेपाल भारत सिामानामा पर्ने हिरामोनिया भन्ने स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । यस्तै घटनाका मुख्य योजनाकार भनेर तुलसीपुर उपमहानगरपालिका ८ का २८ वर्षिय भुपेन्द्र भण्डारी लाई तुलसीपूर बजारबाटै र सोही उपमहानगरपालिका ११ कटाहा का ३० वर्षिय खुम बहादुर केसीलाई काठमाण्डौमा पक्राउ गरेको हो । यस्तै सोही घटनामा संलग्न भन्दै प्रहरीले तुलसीपूर उपमहानगरपालिकका ९ बेलुवा शिवज्योती टोलका बस्नै ४१ वर्षिय नारायण वलीलाई समेत पक्राउ गरिएको जनाएको छ ।
यसअघि प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर–१२ का २५ वर्षीय ‘कमल’ उर्फ अबिरल महतरा, दाङ घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जङकोट १ घर भई हाल घोराही उपमहानगरपालिका–४, का ४० वर्षीय ‘रमेश’ ऊर्फ मनबहादुर पुनलाई पक्राउ गरेको थियो।
रकम असुल्न अपहरण
प्रारम्भिक बयानका क्रममा मुख्य योजनाकार भनिएका टिकारामले रकम असुलीका लागि अपहरण गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । टिकारामले आफूलाई ऋणले च्यापेपछि रकम असुली गर्ने योजनाका साथ व्यापारी श्रेष्ठको अपहरण गरेको बयान दिएका छन । प्रमुख योजनाकार टिकाराम व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिन अगाडि घरबाट काठमाडौं जान्छु भनेर निस्किएको पाइएको छ।
टिकारामले आफू जापान जाने भनेर दलाललाई बुझाएको १० लाख रुपैयाँ उठाउन काठमाडौं जान्छु र केही दिनमा फर्किन्छु भनेर व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिन अघि घरबाट निस्किएका थिए।
टिकारामकी श्रीमती तारा घर्तीले प्रहरी सोधपुछका क्रममा आफूलाई घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेपछि मात्रै थाहा पाएको बताएकी छिन । गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शब असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले पुरिएको अवस्थामा व्यापारी प्रहरीले फेला पारेको थियो। अभिुयुक्त हरुलाई अपहरण र कर्तव्य ज्यान सम्बन्धी मुद्या चलाईने प्रहरीले जनाएको छ ।