काठमाडौं, २७ असार । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमवार बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानुपर्नेछ । हालको मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात् साउन १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्थासमेत गरिएको आयोगले जानकारी दिएको छ ।
एक स्थानको मतपरिणाम आउन बाँकी
दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार हालसम्म ३४ जिल्लाका ३ सय ३३ स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । २० ओटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको बताइएको छ ।
देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १ सय ५०, नेपाली काङ्ग्रेस १ सय २२, नेकपा ९माओवादी केन्द्र० ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुखरअध्यक्ष पदमा विजयी भएका छन् । रासस