इन्द्रेणी संवाददाता 

दाङ २६, असार । रुकुममा श्रीमानले नबनिर्बाचित वडा सदस्यको हत्या गरेका छन् । रुकुमको पुथाउत्तरगंगा गाउँपालीका ७ जाङकी नवनिर्वाचित दलित महिला सदस्य बयानसरी कामीको उनकै श्रीमानले हत्या गरेका हुँन् । श्रीमान ३८ वर्षिय तेजवहादुर कामीले २७ बर्षिया  बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

मदिरा सेवन गरेको अवस्थामा घरायसी विवाद हुँदा तेजवहादुरले आईतबार बिहान खुकुरी प्रहार गरी बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रबक्ता प्रहरी निरिक्षक थम्मनवहादुर रजालीले जानकारी दिए ।

स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए । उक्त खवरपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपमा श्रीमान तेजवहादुरलाई पक्राउ गरेको छ । घटनामा तेजवहादुररको संलग्नता भएको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बयानसरी असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनकमा पुथाउत्तरगंगा गाउँपालीका ७ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर दलित महिला सदस्यमा निर्वाचित भएकी थिईन ।