काठमाडोै, ११ असार । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् । नयाँ पत्रिकामा खबर छ । निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका नेताहरूले आइतबार आजसम्म मात्रै अन्तिम चुनावी प्रचारप्रसार गर्न पाउने भएका कारण अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा सक्रिय देखिएका हुन् ।

inddप्रधानमन्त्री शेरबहादुर देउवा एकैदिन दुई जिल्लाका चुनावी दौडाहमा व्यस्त रहे । शुक्रबार कैलाली पुगेका देउवाले शनिबार कञ्चनपुरका छुट्टाछुट्टै तीनवटा आमसभालाई सम्बोधन गरेका छन् । दिउँसो बेलडाँडी, बेलौरी र पुनर्वासको आमसभालाई सम्बोधन गरेका देउवा अपराह्न डडेल्धुराको पर्शुराम नगरपालिकाको सभामा सहभागी भए । त्यसपछि बेलुकी कार्यकर्ता भेटघाटमा व्यस्त बने । आइतबारै उनले डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्नुका साथै अन्य आमसभामा पनि सहभागिता जनाउँदै छन् ।

पौडेल ५ नम्बर प्रदेशमा सक्रिय
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार दाङको राप्ती र लमही नगरपालिका तथा बाँकेको नेपालगन्ज र कोहलपुर नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । आइतबार उनले बुटवल, भैरहवा र नवलपरासीको बर्दघाटको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा। रामशरण महतलगायतका नेताहरू प्रदेश नम्बर १ को विभिन्न चुनावी आमसभामा सक्रिय छन् । त्यस्तै, युवानेता गगन थापा, प्रदीप पौडेललगायत सुदूरपश्चिमका चुनावी सभामा छन् ।