jeewan gautamजीवन गौतम / मेयरका उम्मेदवार ( नेकपा माओवादी केन्द्र )
घोराही उपमहानगरपालिका

१२ वर्षदेखि विद्यार्थी राजनीतिमा होमिएका जीवन गौतम अहिले घोराही उपमहानगरपालिकाको मेयर पदमा चुनाव लड्दै हुनुहुन्छ । विद्यार्थी राजनीतिमा २०४६ सालमा मावि भरतपुरबाट विद्यार्थी आन्दोलनमा होमिएका गौतम २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंमा रहेर आन्दोलनको मोर्चा सम्हाल्नुभएको थियो । उहाँ अहिले माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुनुहुन्छ । गौतमलाई अन्य पार्टीका उम्मेदवारको तुलनामा राष्ट्रिय राजनीतिमा राम्रो पहुँच राख्ने र विकास निर्माणमा अगुवाई गर्न सक्ने भनेर चर्चा गरिन्छ । उनै गौतमलाई माओवादी केन्द्रले घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएको छ । चुनाव प्रचार प्रसारको क्रममा घरदैलो अभियानमा व्यस्त गौतमलाई उहाँको उम्मेदवारीका विषयमा पत्रकार पाण्डव शर्माले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक

घोराही उपमहानगरपालिकाको मेयर पदमा तपाईको उम्मेदवारी किन ?

महान जनयुद्ध, २०६२/ ०६३ को जनआन्दोलन र मधेश आन्दोलन तथा उत्पीडित जाति तथा जनजातिहरुको आन्दोलनबाट समग्र योगफलको रुपमा हामीले नयाँ संविधान प्राप्त गरेका छौं । नयाँ संविधानबाट अधिकारको एउटा लडाईको चक्र पूरा गरेका छौं । हामीले त्यतिबेला जनतासँग विकास, रोजगारी, गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको प्रतिवद्धता व्यक्त गरेका थियौं । ती प्रतिवद्धताहरुलाई पूरा गर्दै विकसित, समुन्नत, भ्रष्टाचारमुक्त घोराही उपमहागरपालिका निर्माणका लागि मेरो अथवा माओवादीको उम्मेदवारी हो ।

आम मतदाताले मेयर पदमा अरु उम्मेदवारलाई विजयी नगराएर तपाईलाई नै जिताउनुपर्ने कारण के छ ?

हामीले जे एजेण्डा अघि सारेका छौं, त्यसका आधारमा समर्थन गर्ने हो । माओवादीले घोराही उपमहानगरपालिकालाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने एजेण्डा लिएको छ । त्यसैगरी राप्ती उपक्षेत्रीय अस्पताललाई दुई वर्षभित्र स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउने, नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, रामपुर र नारायणपुरमा प्राविधिक विश्वविद्यालय बनाउने, औद्योगिक क्षेत्र बनाउँदै रोजगारीका अवसर सृजना गर्ने, सडक विस्तार तथा चौडा गर्ने, पुल निर्माण गर्ने, शिक्षा, स्वास्थ्य रोजगारलगायतका योजनाहरुले मात्र घोराही उपमहानगरपालिकाको विकास गर्न सकिन्छ ।

हामीले हिजो जे भनेका छौं, त्यो गरेका छौं । यो दश वर्षको बीचमा घोराही उपमहानगरपालिका र समग्र दाङको विकासका निमित्त माओवादी पार्टीले नै मेहनत गरेर अहिलेको अवस्था आएको हो । हामीले अहिले जनतालाई यो काम ग¥यौं भनेर देखाउनलायक योजनाहरु थुप्रै छन् । समग्र घोराही उपमहानगरका जनतालाई माओवादीले गर्छ भनेर विश्वास पैदा भएको छ । स्थानीय तहका सन्दर्भमा नीतिका हिसाबले पनि हामीले ल्याएको हो । यो बीचमा मेहनत पनि हामीले गरेका छौं । स्थानीय सरकार अथवा स्थानीय सत्ता जनताको पहुँचमा पु¥याउन माओवादी चाहिन्छ । घोराही उपमहानगरको समग्र विकासका लागि माओवादी नै चाहिन्छ भनेर आम जनसमुदायले भन्दै आएका छन् । त्यसैले एकपटक माओवादीलाई परीक्षण गर्न म आम घोराही उपमहानगरबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु ।

तपाईले घोराही अथवा समग्र दाङको विकासका लागि थुप्रै पहल गर्नुभएको छ । केन्द्रमा डेलिगेशन जानेदेखि मन्त्रीहरुलाई यहाँको विकासमा सचेत बनाउने तपाईको भूमिका रहँदै आएको छ । तपाईहरुकै कारणले दाङमा भएका उपलब्धिहरु बताइदिनुस् न ?

पहिलो कुरा बुझाउनका लागि हामीले प्रयत्न ग¥यौं । तर मिडिया हामीप्रति धेरै सकारात्मक भएन । जसका कारण हामीले धेरै कुरा हाम्रा कुरा जनतामाझ पुग्न सकेन । राप्ती उपक्षेत्रीय अस्पताल निर्माण, प्यूठानको सडकमा बजेट, राप्ती अञ्चल अस्पताल निर्माण, टरिगाउँ एयरपोर्ट कालोपत्रे, उच्च अदालत दाङमा स्थापना, ६ वटा प्राविधिक विद्यालय बनाउने लगायतका काम माओवादीको पहलमा भएको छ । पछिल्लो दश महिनामा करिब सवा ५ अर्बको बजेट माओवादीका कारण दाङमा आएको छ । तटबन्ध, खानेपानी, सडकलगायतको क्षेत्रमा हामीले धेरै काम गरेका छौं । यी सबै काम प्रचण्ड नेतृत्वका सरकारमा भएको हो । यति काम अरु राजनीतिक दलहरुले पनि गरिदिएको भए दाङ धेरै अघि बढिसक्थ्यो ।

घोराही उपमहानगरको मेयर पदका अन्य उम्मेदवारको तुलनामा तपाई राष्ट्रिय राजनीति पहुँच राख्नुहुन्छ । तपाई मेयर पदमा निर्वाचित भइसकेपछि घोराहीको विकासका लागि कस्तो पहल गर्नुहुन्छ ?

हामीले अहिलेदेखि मात्र होइन– नयाँ संविधान आएपछि जब मुलुक संघीयतामा गयो, त्यसपछि हामीले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर पहल गरिरहेका छौं । हाम्रो पार्टी केन्द्र र प्रदेशले घोषणा गरेपछि हामीले पार्टीको प्रदेश कार्यालय दाङमा स्थापना गरेका छौं । हामीले जित्यौं भने अझ वैधानिक ढंगले पहल गर्ने छौं ।

पछिल्लो समय घोराही उपमहानगरमा माओवादीको चुनावी रौनक निकै धेरै आएको देखिन्छ । तपाईले चुनाव जित्ने आधार के हो ?

पहिलो कुरा हाम्रो संगठन नै हो । हाम्रो संगठन बलियो रहेको छ । त्यसैगरी दोस्रो कुरा जनता हो । जनता हाम्रो साथमा हुनुहुन्छ । तेस्रो कुरा इमान्दारिता हो, हामी इमान्दार भएर लागेका छौं । हामीलाई आम जनसमुदायको अपार माया रहेको छ । विकास निर्माण र समग्र उपमहानगरको विकासमा हामीले पु¥याएको योगदानको आधारमा आम मतदाताले हामीलाई विजयी बनाउने छन् ।

घोराही उपमहानगरपालिकामा तपाईले अगाडि सारेका योजनाहरु के–के छन् ?

उपमहानगरपालिकामा एउटा बहुप्राविधिक विश्वविद्यालय स्थापना गर्न पहल गरिनेछ । शहीद मार्गलाई ढोरपाटन शिकार आरक्षसँग जोड्न पहल गरिनेछ । बुद्धभूमि पर्यटकीय क्षेत्र लुम्बिनीलाई दाङ हुँदै मुगुको पर्या–पर्यटकीय स्थल रारा जोड्ने पर्यटकीय राजमार्ग निर्माण गर्न पहल गरिनेछ । उपमहानगरको धर्नामा औद्योगिक क्षेत्र निर्माण गर्न, सिचाइ तथा शुद्ध खानेपानीको दीर्घकालीन समाधानका लागि माडी डाइभर्सन बहुउद्देश्यीय परियोजनाको लागि जोडदार पहल गरिनेछ ।

खङ्ग्रा नाका–रिहार–नारायणपुर हुँदै रोल्पा जोड्ने सडक, घोराही–हात्तिखर्क–राम्चे हुँदै रोल्पाको लिबाङ जोड्ने सडक र घोराही–मुर्कुटी–प्यूठान जोड्ने सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ । उपमहानगरभित्र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला निर्माण गरिनेछ । नगर क्षेत्रको पूर्वाधार विकासअन्तर्गत सघन बजार क्षेत्र केन्द्रित भित्री चक्रपथ निर्माण गरी सिटी रेल सञ्चालन गरिनेछ । सम्पूर्ण नगर क्षेत्रलाई गाउँपालिका तथा अन्य नगर क्षेत्रसँग जोड्ने पूर्वाधारको रुपमा बाह्य चक्रपथको विस्तृत परियोजना प्रतिवेदन तयार गरी तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिनेछ । उक्त क्षेत्रमा पनि मेट्रो रेल सञ्चालन गरिनेछ ।

सम्पूर्ण नगर क्षेत्रलाई समेट्ने गरी सडक सञ्जाल विस्तार, स्तरोन्नति र कालोपत्रे गरिनेछ । साथै सबै वडाहरुलाई नगर केन्द्रसँग स्तरीय सडक सञ्जालले जोडिनेछ । घोराही उपमहानगरबाट प्रदेशका सबै जिल्लाहरुमा जोड्न स्तरीय सडक सञ्जाल निर्माण गरिनेछ । साथै नगरका सबै वडाहरुलाई नगरको केन्द्रसँग स्तरीय सडक सञ्जालले जोडिनेछ । घोराही–तुलसीपुर आँखा अस्पताल सडकको स्तरोन्नति तथा कालोपत्रे गरिनेछ । सडक दूरीको आधारमा भाडादर निर्धारण गरी कार्यान्वयन गरिनेछ । नगर क्षेत्रभित्र अत्याधुनिक र सुविधासम्पन्न नगर बस सञ्चालन गरिनेछ । उपमहानगरको केन्द्रबाट नगरका पहाडी गाउँहरुलाई सहज यातायातको सुविधाका लागि केवलकार सञ्चालन गरिनेछ । तीन महिनाभित्र नगरभित्रका कच्ची तथा पक्की सडकका खाल्डाखुल्डीहरु मर्मत गरी यात्रा सहज बनाइनेछ ।

नगरको भोगाधिकारमा रहेको जमिनलाई वैज्ञानिक तरिकाले उपभोग गरिनेछ । फोहर व्यवस्थापन केन्द्र, वैज्ञानिक बधशाला, पार्क, हरियाली क्षेत्र, वर्षातको पानी संकलन केन्द्र आदिका रुपमा प्रयोग गरिनेछ । नगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी जग्गामा बसोबास गर्दै आएका बासिन्दाहरुको वास्तविक पहिचान र छानविन गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गरिनेछ । भू–उपयोग नीति निर्माण गरी प्रभावकारी रुपले कार्यान्वयनमा लगिनेछ । जस्तै, आवास क्षेत्र, बजार क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, कृषि क्षेत्र आदि किटान गरी सोही अनुसार कार्यान्वयन गरिनेछ । जमिनलाई शहरी, अर्धशहरी र ग्रामीण गरी तीन प्रकारमा वर्गीकरण गरी वैज्ञानिक कर प्रणाली लागू गरिनेछ ।

नगरलाई आवश्यक पर्ने जमिन ल्याण्ड व्यांकिङमार्फत् खरिद गरिनेछ र वैज्ञानिक रुपले प्रयोग गरिनेछ । नगर विद्युतीकरण तथा सौर्य ऊर्जा विकास गर्दै नगरको प्रत्येक परिवारलाई उज्यालो कार्यक्रम जोडिनेछ । अतिविपन्न परिवारलाई परम्परागत ऊर्जाको प्रयोगबाट डाइभर्ट गर्दै निःशुल्क वैकल्पिक खाना पकाउने ऊर्जा (वायोग्यास, सोलार वा एलपी ग्यास) उपलब्ध गराउनुका साथै यस कार्यक्रमलाई पाँच वर्षभित्र सम्पूर्ण नगर क्षेत्रभित्र पूरा गरि उपमहानगरपालिकाअन्तर्गतका हालसम्म विद्युत सेवा नपुगेका सबै बस्तीहरुमा विद्युत बिस्तार गरिनेछ । विद्युत सुविधा पुगेका तर भोल्टेजको समस्या भएका स्थानहरुमा भोल्टेज सुधार गरिनेछ । विद्युत, टेलिफोनलगायतका आकाशे तार तथा पोलहरुलाई हटाई जमिनमुनिबाट बिस्तार गरिनेछ । तत्काल सघन बजार क्षेत्रबाट शुरु गरिनेछ ।

र, अन्त्यमा आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

महान जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणामस्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, मौलिक हक र अधिकारहरु लगायतका केही महत्वपूर्ण जनअधिकारहरु स्थापित भएका छन् । जसअनुसार मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधान पनि जारी भएको छ । विद्यमान राजनैतिक शक्ति सन्तुलनका कारण अपेक्षाकृत सबै प्रकारका अधिकारहरु सम्बोधन हुन नसके तापनि जे जति उपलब्धिहरु प्राप्त भएका छन्, ती ऐतिहासिक र महत्वपूर्ण उपलब्धिहरु हुन् । तर ती अधिकारहरु कार्यान्वयन भइसकेका छैनन् ।

राज्यको पुनर्संरचनासहितको स्थानीय तहको पुनर्संरचनाको मूल प्रस्तावक र कार्यान्वयनको पहलकर्ता ने.क.पा. (माओवादी केन्द्र) रहेको हुनाले हाम्रो पार्टी स्थानीय तहलाई जनताको वास्तविक स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहन्छ ।

घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो उपमहानगर हो । एसिया महाद्विपकै दोस्रो ठूलो उपत्यकामा अवस्थित यस उपमहानगरपालिका प्रदेशकै एउटा महत्वपूर्ण ऐतिहासिक, धार्मिक, प्राकृतिक र साँस्कृतिक क्षेत्रका रुपमा चिनिन्छ । यहाँ प्रशस्त सम्भावनाहरु रहेका छन् । उर्वर भूमि, अनुकूल हावापानी, पर्याप्त प्राकृतिक र साँस्कृतिक सम्पदा विद्यमान रहेको यस उपमहानगरपालिकामा माओवादी केन्द्रलाई अत्यधिक मतका साथ विजयी बनाउन सम्पूर्ण नगरबासी जनसमुदायहरुमा हार्दिक अपिल गर्दछु ।