तारा पराजुली उपमेयरकी उम्मेदवार / नेकपा एमाले
बेलबारी नगरपालिकाको उपमेयरमा तपाईको उम्मेदवारी किन ?
पुरुष प्रधान नेपाली समाजमा महिलाहरु अहिलेसम्म गृहलक्ष्मीको उपमा दिदै घरायसी काम काज गर्न तथा सन्तान उत्पादनको मेसिनको रुपमा मात्र हेरिएकोछ । यति मात्र नभएर महिला हरुलाई हरेक स्थानमा पछाडि पारिदै दोश्रो दर्जाका नागरिक सरह ब्याबहार गरिदै आएको छ नेपाली समाजले ।
यतिबेला सम्म नेपालमा हरेक पदमा पुरुष नै हुनुपर्ने मान्यता जस्तो भएको छ । राष्ट्रिय रुपमा केही पदमा महिलाहरु पुगे पनि देशव्यापी रुपमा महिलाहरु कार्यकारी पदमा पुग्न सकेका छैनन् । अहिले पनि यो निर्वाचनमा धेरै स्थानीय तहमा महिलालाई उप मेयर अथवा उपाध्यक्षमा उठाउने काम भएको छ । म एक पटक कार्यकारी पदमा पुगेर बेलबारी नगरपालिकाको समग्र विकासमा लाग्न चाहन्छु । म पुरुषसरह काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु ।
नेपालमा महिला तथा उत्पीडितको अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने मेरो दृढ संकल्प हो । म नगरपालिकाको उप मेयर भएपछि महिलाको मात्र नभएर यस क्षेत्रको समग्र समुदायका लागि काम गर्ने छु । मैले विगतदेखि नै यस क्षेत्रको विकासका लागि पहल गरिरहेको छु । अब त्यो काम पूरा गर्नका लागि पार्टीले मलाई आवश्यक देखेकाले मैले नगरपालिकाको उप मेयर पदमा उम्मेदवारी दिएको हुँ ।
मेरो उम्मेदवारी दर्ता पछि शुभेच्छुक तथा आम नगरवासीले म प्रति देखाएको आघात श्रदा र हौसलाले म चुनाव जित्ने कुरामा बिश्वस्त छु । मतदाता तथा आम जनताहरुको माया र सहयोगबाट मैले राम्रो मतका साथ नगरको उप प्रमुख पदमा चुनाव जितेर यस क्षेत्रको विकासमा लाग्ने छु । यस पटक आम जनसमुदायले मलाई अबसर दिनुहुनेछ भन्ने मेरो विश्वास रहेको छ ।
बेलबारी नगरपालिकाको उपमेयरमा अरु उम्मेदवारलाई भोट नदिएर तपाईलाई नै दिनुपर्ने कारण के ?
म पदमा नपुग्दा पनि यस क्षेत्रको बिकाशका लागि मैले दिएको योगदान अपुरनिय छ । बेलबारी नगरपालिकाको समग्र विकासका लागि मेरो आवश्यकता छ भन्ने कुरा मैले आम जनताकै मुखबाट प्रसस्तै सुनेर मैले चुनावमा उम्मेद्वारी दिएको हो । नगरपालिकालाई कसरी व्यवस्थित गर्नुपर्छ भनेर मसँग स्पष्ट योजना रहेको छ । अहिले बेलबारी नगरपालिका भएर पनि राम्रोसँग शहरीकरण हुन सकेको छैन । फोहोरमैला व्यवस्थापन हुन सकेको छैन ।
खानेपानी , यातायात र इन्टरनेटको पनि राम्रो सुबिधा छै समयको परिबर्तन संगै यो नगरपालीका मा प्रसस्त सुबिधा लिएर स्थानिय स्रोत साधन प्रयोग गरेर यो नगरपालीका लाई सम्पन्न नगरपालीका बनाउने मेरो प्रमुख एजेण्डा हो ।
सामान्य नगरको रुपमा स्थापित यस बेलबारीलाई आधुनिक शहर बनाउन जरुरी छ, यसको लागि मैले मन बचन र कर्मले लागिपर्ने कुरा म आम जनताहरुलाई बिश्वास दिलाउन चाहान्छु । तर अन्य पार्टीहरुसँका उम्मेदवार संग बेलबारी नगरपालीका लाई कसरी सम्पन्न र सम्पन्न नगर बनाउने भन्ने स्पष्ट योजना छैन ।
यो पटकको निर्वाचन विगतमा जस्तो जनप्रतिनिधि चुन्ने मात्र होइन । हामीले अहिले स्थानीय सरकार बनाउन लागिरहेका छौं । अब हामीले गाउँमा केन्द्रको अधिकार वितरण गर्नुपर्ने हुन्छ । यसका लागि मेरो आवश्यकता देखिएको छ ।
तपाई त स्थापित साहित्यकार कसरी राजनीतिमा उदाउनुभयो ?
हाहाहा म स्थापित साहित्यकार त होइन तर पनि साहित्य सृजना गर्दछु। म साहित्य सृजनाको अलावा सानै देखि एमाले निकट रहेर अनेरास्ववियु तथा अनेमसंघमा लागेर लामो समय राजीनिती गरेको अनुभब छ । मैले साहित्य सृजना गर्दै गर्दा नारी सशक्तिकरण तथा बिपन्न नारीका आवाज धेरै लेखेकोछु । यतिमात्र नभएर आजको आधुनिक युगमा आइपुग्दा सम्मपनि नेपालका केहि भूभागमा छाउपडी प्रथा कायमै हुनु धर्मका कारण नारीहरुले अनुहार छोपेर हिड्नु । जातिय तथा बर्गीय असमानता हुनु मलाइ राजनीतिकमा प्रेरित गर्ने बिषयहरु हुन् । यी कुराहरुलाई निर्मुल पर्नाकालागी आफै कार्यकारी पदमा पुग्नुपर्ने आबश्यकता देखेर म राजनीतिकमा आएको हो ।
बेलबारी नगरपालिकाका समस्या के देख्नुहुन्छ ?
बेलबारी नगरपालिका भर्खरै गठन भएको नगरपालिका हो । अहिले पनि नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार तयार भइसकेका छैनन् । खानेपानी, ढल निकास, सडक विस्तार लगायतका काम हुन सकेका छैनन् । यहाँ फोहोर व्यवस्थापनका लागि निकै समस्या छ । त्यसैगरी नगरपालिकाका विकट क्षेत्रमा सुकुम्बासी तथा भूमिहीनहरुका समस्या छन् । यी समस्या समाधानका लागि पहिलो पटक बन्न थालेको स्थानीय तहले स्पष्ट योजना बनाउनुपर्ने छ । यी योजना बनाउन म सक्षम छु ।
प्रस्तुली : केशरमान बुढाथोकी