काठमाडौं, ३ असार । यहि असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनावका लागि भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने १४ गते मतदान हुनेछ ।

दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुनेछ, जसमा बिराटनगर महानगरका साथै ७ उपमहानर, १११ नगरपालिका र २१५ गाउँपालिका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

निर्वाचन आयोगका अनुसार ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।