केएल पीडित 

दाङ । दुुई वर्ष अघि उनी तुलसीपुरको तुलसी बोर्डिङ स्कूलमा कक्षा नौमा पढ्दै थिइन् । उनको सम्पूर्ण ध्यान पढाइमा थियो । अन्य क्षेत्रतिर उनको खास लगाव र सहभागिता थिएन । विद्यालय र घरको वातावरणले पनि उनलाई बढीजसो पढाइमै केन्द्रित गराएको थियो ।

तुलसीपुर–९ दोघरे निवासी गोकर्ण डाँगी र सुशीला केसी डाँगीकी ज्येष्ठ सुपुत्री स्वीकृति डाँगीले एकदिन विद्यालयमा राप्ती अञ्चलस्तरीय गायन विधाको प्रतियोगिता हिरो अफ भ्वाइस शुरु भएको सूचना पाइन् । उनका केही साथीहरु त्यो प्रतियोगितामा भाग लिन कस्सिएपछि स्वीकृतिलाई पनि कता–कता गाउने रहर लागेर आयो । उनी पनि साथीहरुसँगै तुलसीपुर अडिसनमा भाग लिन पुगिन् । यसअघि कहिल्यै गीत नगाएकी स्वीकृति हिरो अफ भ्वाइसको तुलसीपुर अडिसनबाट मेघा राउण्डको लागि चयन भइन् । उनको स्वर माधुर्यताले तुलसीपुरमा सबैबाट वाहवाही पायो ।

Swaikriti Dangi“म त साथीहरुको लहलहैमा गएकी हुँ”– स्वीकृतिले भनिन्– “अडिसनमा छानिन्छु भन्ने सोचेकै थिएन, तर राम्रो गाएछु । मेघा राउण्डका लागि छानिन सफल भएँ ।”

यसअघि विद्यालय, घरपरिवार र स्वीकृतिका साथीहरु कसैलाई पनि उनको स्वर प्रतिभाको केही छनक थिएन । पहिलोपटक नै राम्रो गाएपछि स्वीकृतिप्रति सबै उत्साहित भए । स्वीकृति पनि उत्तिकै उत्साहित भइन् । त्यसपछि भने उनले गीतिसंगीततिर पनि विशेष ध्यान दिन थालिन् । विद्यालय र परिवारबाट पनि उनलाई साथ, सहयोग र प्रेरणा मिल्न थाल्यो ।

वि.सं. २०७१ साल चैत २१ गते घोराहीमा हिरो अफ भ्वाइसको फाइनल कार्यक्रम तय थियो । करीव पाँच सय प्रतिस्पर्धीहरुलाई उछिनेर स्वीकृति फाइनल राउण्डमा आइपुगिन् । फाइनलमा उनीसहित १५ जना उपाधिका लागि प्रतिस्पर्धामा थिए । सबै प्रतियोगीहरु एक से एक थिए । उपाधिका लागि सबैले उत्तिकै मिहेनत गरेका थिए । स्वीकृतिले पनि निकै कडा मिहेनत गरेकी थिइन् । कार्यक्रममा उनले आस्था रातवको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको गीत गाइन् ।

उनको प्रस्तुति यति सशक्त रह्यो कि सिंगो हल गुञ्जायमान भयो । तालीको गडगडाहट धेरै बेरसम्म गुञ्जिरह्यो । दर्शकहरु उठेर स्वीकृति ! स्वीकृति !! भनेर लगातार हुटिङ गरिरहे । पोख्त व्यावसायिक कलाकार जस्तो उनको स्वर माधुर्यता र प्रस्तुतिकरण निकै बेजोड रह्यो । उनको तुलनामा अरु प्रतियोगीहरुको प्रस्तुति निकै फिका रह्यो । त्यो वर्षको हिरो अफ भ्वाइसको उपाधि उनैले जितिन् । ट्रफी, मेडल, अबिर मालाले उनको भव्य स्वागत सम्मान भयो । त्यसपछि एकाएक मिडियामा छाइन् स्वीकृति । बधाई र सम्मानहरु ओइरिए । उनको प्रतिभाले प्रष्फुटन हुने अवसर पायो ।

“त्यो दिन मेरो जीवनको सबैभन्दा खुशीको दिन हो”– स्वीकृतिले उत्साहित हुँदै भनिन्– “त्यो दिन मैले आफ्नो प्रतिभा देखाउने अवसर पाएँ, आफ्नो परिचय बनाउने अवसर पाएँ । यो दिन म कहिल्यै बिर्सने छैन ।”

गीतसंगीत क्षेत्रको अत्यन्त प्रतिभाशाली एवं निष्ठावान नवगायिकाको रुपमा दाङमा स्वीकृतिले अलग्गै पहिचान बनाउन सफल भइन् । हिरो अफ भ्वाइसको उपाधि जिते पनि उनलाई आयोजक संस्थाले दुईवटा गीत गाउने अवसर दियो । उनले कम्लरी विषयवस्तुमा बनेको चलचित्र लावाजुनीमा पनि स्वर दिएकी छन् । चललित्र लावाजुनी अब प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

स्वीकृति अहिले विज्ञान विषय लिएर काठमाडौंमा कक्षा ११ मा अध्ययन गर्दैछिन् । अहिले उनी मुख्यरुपमा पढाइमा केन्द्रित छिन् । डाक्टर बन्ने उनको लक्ष छ । तर उनी गीतिसंगीतलाई पनि अगाडि बढाउने सोचमा छिन्, भन्छिन्– “पहिले पढाइ पूरा गर्छु । अनि गीतसंगीतमा लाग्छु । गीतसंगीत पनि मेरो सपना हो ।”