काठमाडौं, ३१ जेठ । प्रदेश नं. २ र ५ को स्थानीय तहको निर्वाचन सार्न सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै पनि छलफल भएको छ । कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकमा प्रदेश नं.२ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले मधेसमा तनाव बढेको भन्दै निर्वाचनको मिति सारेर समाधान खोज्नुपर्ने बताएका हुन् । तर, अन्य केही सदस्यले भने घोषित मितिमै निर्वाचन गर्नुपर्ने अडान लिएका छन् ।

Local_electionकार्यसम्पादन समिति बैठकमा विमलेन्द्र निधि र रमेश रिजालले राजपालाई निर्वाचनमा ल्याउने वातावरण निर्माण गर्न केही दिन निर्वाचन सार्नुपर्ने धारणा राखेका हुन् । नयाँ पत्रिकामा खबर छ । स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गर्न दुई सातादेखि हरेक दिन बसिरहेको बैठकमा अन्य दिन उम्मेदवारका विषयमा छलफल हुने गरे पनि मंगलबारको बैठकमा मधेसमा बढेको तनावको विषयमा नेताहरूले धारणा राखे । राजपाले माने प्रदेश नं। २ मात्रै, नमाने ५ नं। प्रदेशको पनि निर्वाचन सारेर समाधान खोज्नुपर्ने उनीहरूको सुझाब छ ।

बैठकको सुरुमै बोल्दै केन्द्रीय सदस्य रिजालले राजपाको आन्दोलनले मधेसमा तनाव बढिरहेको बताए । गोली चलाएर निर्वाचन गराउँदा नकारात्मक सन्देश जाने उनको भनाइ थियो । ‘राजपाको आन्दोलनले प्रदेश नं। दुईका मतदाता र पार्टी कार्यकर्ता पनि त्रसित छन् । दुई पक्षबीच झडप भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन गराउन गोलीसमेत चलाउनुपर्ने हुन्छ ।

त्यसको सन्देश नकारात्मक पर्छ,’ स्रोतका अनुसार रिजालको भनाइ थियो । राजपासँगको सहमतिमा कम्तीमा एक साता र बढीमा दुई साता निर्वाचन सार्नुपर्ने रिजालको भनाइ थियो । रिजालपछि धारणा राख्दै निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसको स्थितिबारे लामो व्याख्या गर्दै प्रदेश नं। २ मा निर्वचन केही दिन पछि सारेर आन्दोलनमा होमिएको राजपालाई सहमतिमा ल्याउनुपर्ने बताएका थिए । निधि प्रदेश नं। २ घुमेर सोमबार मात्रै काठमाडौं फर्किएका थिए ।