दाङ, ३० जेठ । नेकपा माओवादी केन्द्र दाङले जिल्लाका पालिका तहमा चुनावी तालमेलको कुनै संभावना नरहेको जनाएको छ ।
नेपाली कांग्रेसले उम्मेदवार टुंग्याउन ढिलाइ गरिरहेको बेला जनस्तरमा कांग्रेस–माओवादी तालमेलको तालमेलको तयारी भइरहेको चर्चा चल्न थालेपछि माओवादी केन्द्रले यस्तो कुनै संभावना नरहेको स्पष्ट गरेको हो ।
‘कसले कुन स्वार्थले तालमेलको हल्ला गरेको हो, हामीलाई थाहा छैन’– माओवादी केन्द्र दाङका निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले भन्नुभयो– ‘जिल्लाका दशवटै पालिकामा पालिका तहमा कुनै दलसँग तालमेलको संभावना छैन, हामी एकलरुपमा निर्वाचनमा उत्कृष्टता हासिल गर्न सक्षम छौं ।’
वडा तहमा सापेक्षिकरुपमा कुनै दलसँग तालमेल हुनसक्ने भए त्यसका लागि सम्बन्धित वडालाई छलफल गर्ने अधिकार दिइएको पनि उहाँले जानकारी दिनुभयो । ‘वडा तहमा कुनै दलसँग तालमेल हुने संभावना देखिएमा वडा तहले छलफल गरेर सम्बन्धित पालिकाले जिल्ला कार्यालयसँग समन्वय गरी टुंग्याउनसक्नेछन्’– उहाँले भन्नुभयो– ‘तर, उपमहानगर, नगर र गाउँपलिका तहमा भने कुनै तालमेल हुँदैन ।’











