काठमाडौँ, २८ जेठ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी, झोला लगायतका जिन्सी सामान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिएको छ ।
पहिलो चरणमा उम्मेदवारीको घोषणालगत्तै मतदातासँग मत माग्न निस्केका उम्मेदवारहरू दोस्रो चरणको निर्वाचनको अवधि लम्बिएपछि आचारसंंहिता उल्लङ्घनका घटना पनि बढ्न थालेका छन् । उम्मेदवारहरूले निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी, झोला लगायतका जिन्सी सामान मतदातालाई वितरण गर्ने क्रम बढेपछि निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचारसंहिता समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
गोरखापत्रमा खबर छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन पुनः निर्देशन दिएको छ । आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने अधिकारीहरूलाई तत् सम्बन्धमा अनुगमन गरी त्यस्ता आचारसंहिता विपरीतका कार्य रोक्न निर्देशन पनि दिएको छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘‘विभिन्न राजनीतिक दलहरू तथा उम्मेदवारले निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी, झोला लगायतका जिन्सी सामान मतदाताहरूलाई वितरण गरेको भन्ने बुझिन आएको हुँदा त्यस्ता कार्य निर्वाचन आचारसंहिता अनुकूल हुने नभएकाले त्यस्तो कार्य नगर्न तथा नगराउन जानकारी गराउने । ’’ देशका १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन असार १४ गते बुधबार हुँदैछ ।











