काठमाडौं, २७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताए ।
आफ्नो निवास लाजिम्पाटमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भने ‘अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।’
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मानक तयार पारेको स्पष्ट पारे ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन हुँदैन कि वा मुलुक अगाडि बढ्दैन कि भन्ने आशङ्का र चुनौतीकाबीचबाट आफ्नो नेतृत्वको सरकारले सहजै रुपमा मुलुकलाई नयाँ दिशामा अगाडि बढाइएको बताउँदै ‘अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकी मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ’ भने।
देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उनले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गरे।
अध्यक्ष दाहालले मधेस, पहाड र हिमाललाई जुटाउने सन्दर्भमा पनि नयाँ आधार तयार भएको बताउँदै सहिद, घाइते, बेपत्ता तथा आमजनताको त्याग र बलिदान खेर नजाने अवस्थामा आइपुगेको बताए ।
आफ्नो पार्टी मुलुकको एउटा केन्द्र बन्दैछ भन्ने अवस्था देखिएको र माओवादी आन्दोलन एकीकृत बन्ने, पुनः सङ्गठित हुने अवस्था तयार रहेको बताउँदै उनले नेकपा एमाले अवसरवादीको पर्याय भएको र सो पार्टीभित्र रहेका इमान्दार नेता तथा कार्यकर्तालाई पनि माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह गरे।
अध्यक्ष दाहालले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने र त्यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिसहित मुलुकलाई नयाँ स्थानमा पुर्याउने बताए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका तीन दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले रातो टीका लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, प्रवक्ता पम्फा भुसाललगायतको सहभागिता थियो । रासस
