काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि निर्वाचनको सम्भावनाबारे अड्कलबाजी हुन थालेको छ ।
आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष राजपा नेताहरूबीच चुनाव सार्ने सहमति नभएमा राजपाले चुनाव बहिष्कार गर्दै बन्दलगायत आन्दोलनका घोषणा गर्ने बताएको छ । शनिबार राजपा र सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा चुनाव सार्ने राजपाको मागलाई सत्ता पक्षले ठाडै अस्वीकार गरेपछि बैठक आइतबारका लागि सारिएको थियो ।
राजपाको अडानप्रति प्रतिपक्षी एमालेले कडा आपत्ति जनाउँदै चुनाव कुनै पनि हालतमा सर्न नहुने बताएको छ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरण निर्वाचन कुनै हालतमा सर्न नसक्ने बताउनुभएको छ ।
सत्ता गठबन्धनको दुई नेतृत्व देउवा र पूर्वप्रधानमन्त्री दाहालको सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको राजपालाई चुनावमा लिएर जाँदा निर्वाचन सार्नुपर्ने, छाड्दा समीकरणबीचको द्वन्द्वले मुलुकमै गम्भीर संकटमा पर्न सक्ने त्रास जन्मने देखिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा शनिबारको बसेको बैठकमा प्रधानमन्त्री देउवाले पूर्वनिर्धारित कार्यक्रमअनुसार असार १४ मा हुन लागेको स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गर्नुभएको थियो । । अन्नपूर्ण पोष्टमा खबर छ प्रधानमन्त्री देउवाले राजपालाई प्रमुख प्रतिपक्षी दल एमालेको कारण संविधान संशोधनको प्रस्तावमा दुईतिहाइ पुर्याउन नसक्ने भएकाले चुनाव पछि दुईतिहाइ पुर्याउँदै संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ुदुई तिहाइ पुग्छ भने म भोलि नै संशोधन पारित गराउन तयार छु, पुग्दैन । त्यसैले तपाईंहरू चुनावमा सहभागी भइदिनुहोस् ।ुदेउवाले संसद्को कुल सदस्य संख्या ५९४ रहेको र त्यसको दुई तिहाइ मतका लागि ३९६ मत आवश्यक रहेको तर आफू त्यो हैसियतमा नरहेको बताउनुभएको थियो ।











