प्यूठान, १९ जेठ । प्यूठानमा उत्पादित हर्बल साबुन जापान पुग्न थालेपछि प्यूठानका उद्यमी साबुन उत्पादनमा आकर्षित भएका छन् । स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादित साबुनलाई सहजै रूपमा विदेश निर्यातको व्यवस्था गरेसँगै हर्बल साबुनमा उद्यमीहरूको आकर्षण बढेको हो ।
प्यूठान नगरपालिकाको मरण्ठानामा २०५९ सालमा स्थापना भएको हर्बल साबुनले अहिले स्थानीय मात्र नभई विदेशी चर्चासमेत पाएको छ । मरण्ठानाको झिमरुम हर्बल साबुनको जापानमा निर्यात तथा चर्चा हुन थालेपछि यस क्षेत्रमा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको साना तथा घरेलु उद्योग विकास कार्यालयले जानकारी दिएको छ ।
मरण्ठाना गुरीगाँउमा रहेको उद्योगले गाउँमै पाइने घ्यूकुमारी, नीम, च्यूरी र तेल प्रयोग गरी साबुन उत्पादन गर्ने गरेको उद्योग सञ्चालक दुर्गा केसीले बताइन् ।
‘प्राकृतिक वस्तुको प्रयोगबाट उत्पादन भएको साबुन कस्मेटिक वस्तुको प्रयोगबाट उत्पादन भएको भन्दा गुणस्तरीय र उत्तम मानिन्छ,’ उनले भनिन्, ‘हर्बल साबुनका लागि आवश्यक पर्ने काष्टिक सोडा, जैविक सुगन्धित र केष्टर तेल मात्र बाहिरबाट आयात गर्ने गरेका छौं ।’
विदेशमा अहिले नेपाली गुणस्तरका वस्तुको माग हुने गरेको भन्दै उनले आफूले स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरेको साबुन अहिले जापानमा निर्यात हुने गरेको बताइन् ।
यहाँको उद्योगमा अहिलेसम्म जापानका लघु उद्यमीहरू चारपटक अवलोकनका लागि आइसकेका छन् । अभियानमा खबर छ । यो उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमूना उद्योग हो । यस उद्योगमा स्थानीय चार जना महिलाले रोजगारीसमेत पाएका छन् ।
