चितवन, १८ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ ।
निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो ।
च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ ।
यसैबीच गत आइतवार भरतपुर–१९ को मत गणना स्थलमा विवाद भएर मतपत्र च्यातेको आरोपमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई अदालतले धरौटीमा रिहा गरेको हो ।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार धनिप्रसाद चापागाईंका अनुसार निर्वाचन कसुर ऐन –२०७३ को दफा १६ उप दफा २ बमोजिम १–१ लाख धरौटी लिएर धरौटीमा छोड्न आदेश दिएको हो ।
