काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

sgsgasgलामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।

गणतन्त्र दिवस मनाइरहँदा नयाँ संविधान अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नं १, २, ५ र ७ मा हुनेछ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा देखिएको जनताको उत्साह एवम् सहभागितालाई हेर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत बन्दै गएको बुझ्न सकिन्छ ।

विसं २०७४ माघ ७ गतेसम्म सङ्घ र प्रदेश संसद्को निर्वाचन पनि गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि गणतन्त्र संस्थागत भई संविधानसभाले बनाएको संविधान कार्यान्वयन हुनेछ । संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको सातदशक लामो चाहनाले संविधान कार्यान्वयनसँगै पूर्णता पाउनेछ ।

जहानियाँ राणा शासनको जगजगीका बेला स्थापना भएको नेपाली काँग्रेसले संविधानसभाबाट संविधान बनाई प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाएको थियो । विसं २००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरेपनि त्यो पुरा हुन सकेन ।

विसं २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन । राजा महेन्द्रले विसं २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासनको सूत्रपात गर्नुभएको थियो ।

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ३० वर्ष लामो सङ्घर्षका समयमा संविधानसभाको मुद्वा ओझेलमा प¥यो । विसं २०४६ चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो भने यसपछि विसं २०४८ मा संसदीय निर्वाचन भयो ।

तत्कालीन नेकपा ९माओवादी०ले विसं २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र जनयुद्धका क्रममा संविधानसभाको मागलाई मुख्यरुपमा उठायो । काँग्रेसभित्र पनि संविधानसभा पार्टीकै पुरानो मुद्दा भएकाले द्वन्द्वको निकासका लागि सहमत हुनुपर्ने दबाब बढ्दै गयो । राजा ज्ञानेन्द्रले विसं २०६१ माघ १९ गते चाल्नुभएको शाही कदमका कारण संसद्वादी दल र माओवादीकाबीच कार्यगत एकता भयो ।

फलस्वरुप विसं २०६२ मङ्सिरमा संसद्वादी दल र माओवादीकाबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्रका लागि आन्दोलन सुरु भयो । आन्दोलनको मूल मुद्दा विसं २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने माग थियो । पुनःस्थापित संसद्बाटै संविधानसभा एवम् गणतन्त्रसम्मको यात्रा तय गर्न संसद्वादी दल र माओवादीबीच भित्री सहमति भएको थियो ।

कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखका रुपमा कोइरालाले विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गर्नुभयो । निर्वाचित संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । रासस