काठमाडौं, ७ जेठ । सरकारले यही जेठ १५ गतेभित्रै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । जेठ १० या १२ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।
यसैबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सरकारले आर्थिक वर्ष २०७४ ०७५ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
बैठकले ठूला परियोजनाहरु निर्माणका लागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
स्थानीय तहलाई बलियो बनाउने गरी संविधान कार्यान्वयनमा जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
बजेट अधिवेशनका रुपमा चिनिने संसदको अधिवेशन भोलिदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गते अगावै सरकारले तयार पारेको नीति तथा कार्यक्रम संसदमा पेश गर्दैछन् ।
जेठ १५ गते बजेट घोषणा गर्ने व्यवस्था संविधानमै उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बेलुका राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्नेछन् ।