इन्द्रेणी संवाददाता
बारा, २२ जेठ । नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटको आयोजना तथा वाग्मती इकाईको सहआयोजनमा आजदेखि मगर कर्मकाण्ड सम्बन्धी पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । रौतहटको वाग्मतीमा सुरु भएको तालिमको प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले उदघाटन गर्नुभएको थियो । नेपाल मगर संघ रौतहटका अध्यक्ष अमर बहादुर आले मगरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा विशिष्ट अतिथिहरु केन्द्रीय सदस्य चोली माया पाटा मगर, राष्ट्रिय अनुसन्धानका उप निर्देशक मोहन बहादुर काफ्ले, नेत्र बहादुर पुलामी मगर लगायतको उपस्थिति रहेको थियो । जेठ २५ गते सम्म संचालन हुने प्रशिक्षणमा मगर संस्कृति अनुसार गरिने कर्मकाण्डको विषयमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । प्रशिक्षक डेटु ठाडा मगर र हस्त बहादुर सिँजाली मगरले प्रशिक्षण दिने कार्यक्रममा ९ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य राधिका मगरले गर्नुभएको थियो, भने संचालन विरु रखाल मगरले गर्नुभएको थियो ।