चितवन, १ जेठ । चितवनको भरतपुर महानगरमा किन पनि धेरैको चासो छ भने, यहाँ प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल कांग्रेससँगको तालमेलमा मेयर उम्मेदवार छिन्। उपमेयरमा भने कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन्। एमालेले भने जिल्लाका सक्रिय नेता देवी ज्ञवालीलाई मेयरका लागि मैदानमा उतारेको छ।

Untitled-1 copyभरतपुर महानगरका अधिकांश मतदान केन्द्रहरुमा कांग्रेसका जिल्ला अगुवाहरुले तालमेल बमोजिम नै मतदान गर्न आफ्ना मतदातासँग कानेखुशी गरेको दृष्य देखिएकाले रेणुको पक्षमा कांग्रेसको मत अपेक्षाकृत ढंगमा नपर्ला कि भन्ने आशंका न्यूनिकरण भएको छ। यद्यपी, मतदानपछि कतिपय मतदान केन्द्रहरुबाट बाहिरिएका कांग्रेस मतदाताहरुमा अझै पनि तालेमलप्रति असन्तुष्टि र आक्रोश देखिन्थ्यो।

मतदानमापछि माओवादी केन्द्रका जिल्ला नेताहरुले काँग्रेसको ५० प्रशिशत मत मात्रै हँसिया–हथौडामा परेको भए रेणुले जित्ने लेखाजोखा गरिरहेका छन्। केही सर्वेहरुले पनि रेणुले मेयरमा जित्ने सम्भावना प्रकट गरेका छन्। तर, एमालेलेका जिल्ला नेताहरुले भने, मेयरमा जोरकाजोर टक्कर हुने विश्लेषण गरिरहेका छन्। उम्मेदवार देवी ज्ञवाली आसन्न रहेर प्रचारप्रसारमा खटेको समूहले भरतपुर महानगर पनि एमालेकै खातामा आउने ठोकुवा गर्दै हिँडिरहेको छ।

मतदानपछि काँग्रेसका जिल्ला नेताहरुले उम्मेदवार रेणु दाहालसहित माओवादी केन्द्रका जिल्ला नेताहरुलाई भेटेर आफुहरुले तालमेल कार्यान्वयनका लागि सकेसम्मको प्रयत्न गरेको भन्दै वधाइको शैलीमा ब्रिफिङ गरेकाले पनि रेणु आफ्नो विजयप्रति अलिक बढि आशावादी भएकी छिन्।
माओवादी केन्द्रसँगको तालमेलकै कारण उत्पन्न अन्योल साम्य पार्न र आफ्ना कार्यकर्तालाई आश्वस्त पार्न प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो हप्ता चितवनमा आयोजित संयुक्त सभालाई सम्बोधन गरेका थिए। उनीहरुले यो सहकार्य रणनीतिक र दीर्घकालिन रहेको भन्दै आ–आफ्ना कार्यकर्तालाई विश्वस्त पार्ने यत्न गरेका थिए।

त्यसैगरी अघिल्लो हप्ता नै सभापति देउवाको निर्देशनपछि दुबै पार्टीका जिल्ला नेताहरुबीच जिल्लास्तरीय भातृ संगठन र संघ–संस्थाहरुलाई पनि तालमेल कार्यान्वयनमा खट्न परिचालन गर्ने निर्णय भएको थियो।

सोही बमोजिम कार्यकर्ता परिचालन गरिएकाले पनि रेणुका पक्षमा माहौल बन्ने अपेक्षा गरिएको हो। तर एमालेले भने पछिल्लो संविधानसभामा भरतपुर महानगरको भूगोलभित्र काँग्रेसकोभन्दा एक हजार मत बढि आफ्नो रहेको र त्यो मत ‘इन्ट्याक’ राखिएको र त्यसैमा पनि केही मत काँग्रेस मत चोरिएको आधार अघि सार्दै आफ्नो विजय दाबी गरिरहेको छ। नेपाल खबरमा विष्लेशन छ । तर सत्य यो मात्र होइन, भरतपुरको भूगोलमा माओवादी केन्द्रसँग पनि सांगठनिक रुपमा तेस्रो पोजिसनको मत थियो र त्यसमा काँग्रेसको थपिने मत प्रतिशत नै रेणुको लागि जित–हारको आधार हुने छ।

मतगणनाको माग गर्दै नाराबाजी
चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै स्थान बासिन्दा र समर्थकले नाराबाजी गरिरहेका छन् । भरतपुर महानगरपालिकाको कार्यालय अगाडि उनीहरुले दिँउसोबाट नाराबाजी सुरु गरेका हुन् । बिहानैदेखि पटक पटक सर्वदलीय बैठक बसेपनि मतगणना गर्ने विषयमा सहमति जुट्न नसकेपछि स्थानीय र विभिन्न पार्टी समर्थकले नाराबाजी गरेका हुन् ।

दलहरुबिच दिउँसो २ बजेबाट फेरि छलफल शुरु भएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।